आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना लागेका नेपालीको उपचार कसले गर्छ ? स्वास्थ्यमन्त्री ढकालले गरे यस्तो खुलासा

प्रकाशित
24.3K
SHARES

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरू सेल्फ क्वारेनटाइनमा बस्नुपर्ने बताएका छन्। ज्वरो आएमा परीक्षण गर्ने व्यवस्था मिलाइएको र कोरोनाभाइरस संक्रमण शंका लागेमा राज्यले नै उपचारको व्यवस्था मिलाउने उनले खुलासा गरे।

‘अब सेल्फ क्वारेनटाइनमा मानिसहरू बस्नुपर्छ,’ उनले भने, ‘के गर्ने के नगर्ने भन्ने प्रोटोकल हामीले तयार पारिसकेका छौं। घरमा बस्दा एक अर्का सदस्यसँग कति दूरीमा बस्नेलगायतका कुरा प्रोटोकलमा छ।’ उनले ज्वरो र रूखाखोकी आएमा परीक्षणको व्यवस्था मिलाइएको बताए। ‘परीक्षण गर्दा अस्पतालमै राखेर थप उपचार गर्नुपर्ने अवस्था देखिए मात्रै राज्यले जिम्मा लिन्छ,’ मन्त्री ढकालले भने।

सत्तारूढ नेकपाको भातृ युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बुझाएको ध्यानाकर्षण पत्र बुझेपछि मंगलबार मन्त्रालयमा मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेनटाइनमा राखे जसरी अब राख्न नसकिने पनि बताएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।

‘कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकार लिन्छ,’ उनले भने। क्वारेनटाइनमा राख्नुपर्ने अवस्था देखिए खरिपाटीमा राखिने उनले बताए। ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ। अब सेल्फ (आफै) क्वारेन्टाइनमा मान्छे बस्नुपर्छ,’ उनले भने।

यता अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले कोरोनाबारे सबैलाई सचेत रहन र अफवाह नफैलाउन आग्रह गरे।

औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिबारे सरोकारवालासँग सरकारले मंगलबार प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गरेको छलफलपछि बोल्दै खतिवडाले कोरोनासँग सबै सचेत हुनुपर्ने बताए। कोरोनाबारे सरकार र स्वास्थ्य मन्त्रालयले सूचना प्रवाह गर्ने बताउँदै उनले व्यक्ति पिच्छे डाक्टर नबन्‍न सबैलाई आग्रह गरे।

यस्तै, सरकार समक्ष ६ महिनालाई पुग्‍ने खाद्यान्‍न, ३ महिनालाई पुग्‍ने इन्धन र४ महिनालाई पुग्‍ने औषधि रहेको जानकारी दिए। मन्त्री खतिवडाले भारतसँग अहिले हुने व्यापारमा कुनै बाधा अवरोध नभएको बताए। चीनमा संक्रमण कम हुँदै गएकाले अब सरकारले उत्तरी नाकाहरुमा रहेका सामान ल्याउनेतर्फ सोच्‍ने बताए।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा मास्कको अभाव नहुने बताए। उनले दैनिक १५ हजार थान मास्क उत्पादन भइरहेको बताए। उनले व्यपारीहरुलाई सस्तो मूल्यमा मास्क बेचिदिन पनि आग्रह गरेका छन्। उनले व्यापारीहरुलाई ५ रुपैयाँमा बेचिदिन आग्रह गरे। श्रेष्ठले विमानस्थलमा आउने सबैलाई सकेसम्‍म निःशुल्क रुपमा मास्‍क वितरण गर्न समेत आग्रह गरे।

यसैबीच कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ ।

अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ । आफू स्वस्थ भएको प्रमाणपत्र पनि ७ दिनभित्रको मितिमा तयार भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालीले पनि स्वास्थ्य प्रमाणपत्र देखाउँनुपर्ने !
यसैबीच बिदेशबाट नेपाल आउने नेपालीले पनि आफू कोरोना संक्रमित नभएको पुष्टि हुने कागजात पेस गरेर मात्र नेपाल आउन पाउने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।  ठीकठाक अवस्थामा नेपाल आएका नेपाली र विदेशी जो कोहीले पनि अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको मन्त्री ढकालले जनाएका छन् ।

तर यसअघि चीनबाट उद्धार गरेर नेपाल ल्याइएका १ सय ७५ जना नेपालीका लागि राज्यस्तरबाट भएको उद्धार एवं सरकारले नै क्वारेन्टीमा राख्ने अवस्था भने नरहेको मन्त्री ढकालले बताएका छन् । भवितब्य आइहाले खरिपाटीको क्वारेन्टाइनसहित काठमाडौं उपत्यकाका सबै ४३ वटै अस्पताललाई तमतयार रहन निर्देशन दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ ।

कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय १३ वटा मुलुकमा उपचार भइरहेको छ ।

संक्रमित भएका १ लाख १४ हजार २ सय ९९ मध्ये ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् । चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ४ सय ६३ जनाको मृत्यु भएको छ । थप ९७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको हो ।

इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन् । अरु १७ सय ९७ जना संक्रमित थपिएपछि संक्रमण हुने व्यक्तिको संख्या ९ हजार १ सय ७२ पुगेको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखे पनि कोरोनाभाइरसको महामारी अझ बढेपछि इटाली सरकार चिन्तित बनेको छ ।

यस्तै इरानमा कोरोना भाइरसका कारण २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ । दक्षिण कोरियामा थप १ सय ६५ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । मृतकको संख्या ५३ छ । यस्तै फ्रान्स र स्पेनमा कोरोनाभाइरसबाट ३०/३० जनाको मृत्यु भएको छ भने अमेरिकामा मृतक हुनेको संख्या २६ पुगेको छ ।

कोरोना भाइरससँग हामी सचेत पक्कै हुनुपर्छ तर अतालिनु जरूरी छैन। कोरोना भाइरसबारे हामीले थाहा पाउनु पर्ने र सचेत हुनु पर्ने ९ तथ्य समेटेर हाम्रा पाठकहरूका लागि यो ब्रिफिङ पेपर तयार गरेका छौं।

१.कोरोना भाइरस पक्कै पनि खतरनाक छ। तर यसको संक्रमण भएपछि मान्छेको मृत्यु नै हुन्छ भन्ने होइन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ। त्यो भनेको संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन्।
२. फरक उमेर समूहमा कोरोना भाइरसको प्रभाव फरक देखिएको छ। कम उमेरका बालबच्चा वा वयस्कलाई यो भाइरसले कम प्रभाव पारेको छ।

डब्लूएचओका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसको मृत्युदर ०.२ प्रतिशतमात्र छ। अर्थात् कोरोना भाइरस लागेका ४० वर्षभन्दा कम उमेरका एक हजार जनामध्ये दुई जनाको मात्र मृत्यु भएको छ। ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ।

३. कोरोना भाइरसलाई यात्रा गर्न कुनै माध्यम चाहिन्छ। जस्तो हाँछ्यु गर्दा, खोक्दा वा बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, र्‍याल आदिमा चढेर यो बाहिर निस्कन्छ। त्यसरी बाहिर निस्केर सिधै अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म यो शरिरभित्र पस्न सक्दैन। अर्थात हाम्रो छालाबाट कोरोना भाइरस सोझै हाम्रो शरीरमा छिर्दैन।

मानिसले हाछ्युँ गर्दा वा खोक्दा थुक, खकार, र्‍यालका छिटाहरू एक मिटर परसम्म जान सक्ने भएकाले डाक्टरहरूले संक्रमित मानिससँग कम्तीमा एक मिटरको दूरीमा बस्नु सुरक्षित हुने सल्लाह दिएका छन्।

४. कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो। जसको श्वासप्रश्वास प्रणाली कमजोर छ, उनीहरूलाई यसले बढी सताउँछ। त्यसैले धेरै उमेर भएका, रोग प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत अन्य रोगसँग लडिरहेका मानिसले कोरोनासँग अझै बढी सचेत हुनुपर्छ।

५. कोरोना भाइरसबाट जोगिने सबैभन्दा महत्वपुर्ण उपाय हातले अनुहार नछुनु हो। किनकी जबसम्म यो भाइरस हाम्रो आँखा, नाक र मुखमा पर्दैन। तबसम्म यो शरिरभित्र छिर्न सक्दैन। भाइरसलाई आँखा, मुख र नाकसम्म लैजान महत्वपूर्ण माध्यम हात हो।

हामी प्राय: बेलाबेलामा हातले अनुहार छोइरहेका हुन्छौं। घरी आँखा मिच्छौं। घरी नाक कोट्याउँछौं घरि चिउडोमा हात पुर्‍याउँछौं। यसो गर्दा हातमा भएको कोरोना भाइरसले हाम्रो फोक्सोसम्म पुग्ने गेट भेटाउँछ। संसारभरिकै मानिसलाई हातले अनुहार नछुने बानी हटाउन गाह्रो छ तर यसरी हातलाई अनुहारमा नपुर्‍याउने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ।

६.जतिसक्यो धेरै हात धुनु पर्छ। किनकी तपाईं संक्रमित व्यक्तिको नजिक हुनुहुन्न भने पनि तपाईंको हातमा कोरोना भाइरस आउन सक्छ। जस्तो बसमा यात्रा गर्दा कुनै संक्रमित मानिसले हाँछ्यु गरेर, खोकेर वा अरू कुनै माध्यमले भाइरस छोडेको हुनसक्छ। त्यही ठाउँमा तपाईंहको हात पर्यो भने भाइरस हातमा आउँछ।

कोरोना भाइरस यस्तो जब्बर छ कि उपयुक्त वातावरण पाए यो मानिसको शरिरबाहिर पनि ९ दिनसम्म बाँच्न सक्छ। त्यसैले संक्रमितले बसको डन्डी, कुनै सामानको कभर, बेसिनको धारा टुटी जता पनि यसलाई छोडेको हुनसक्छ। यस्ता ठाउँमा छोएपछि हात धुँदा हात सफा हुन्छ र कोरोना भाइरस अनुहारसम्म पुग्ने सम्भावना कम हुन्छ। भेट हुँदा र छुट्टिँदा हात मिलाउनुको साटो नमस्कार गर्नुभयो भने अर्को व्यक्तिको हातमा रहेको कोरोना भाइरस तपाईंको हातमा आउन पाउँदैन।

७. अहिले नेपालमा पनि स्यानिटाइजरको अभाव देखिन्छ। तर हात धुँदा स्यानिटाइजर नै चाहिन्छ भन्ने छैन। कुनै ठाउँमा तपाईंसँगै हात धुन साबुन र पानी छैन भने स्यानिटाइजर प्रयोग गर्न सकिन्छ तर सबैभन्दा राम्रो तरिका साबुन पानीले हात धुनु नै हो।

८. जसरी कोरोना भाइरस संसारभर फैलिरहेको छ त्यसरी नै नेपालमा मास्कको माग बढेको छ र अभाव सिर्जना भएको छ। कोरोना भाइरस हावाका माध्यमबाट मात्र सर्न नसक्ने भएकाले मास्क लगाउनु आफैंमा महत्वपूर्ण छैन।

यद्यपी मास्क लगाउँदा तीन किसिमले हामीलाई फाइदा पुग्छ। पहिलो, यसले संक्रमित व्यक्तिबाट भाइरस बोकेका थुक, खकार र र्‍यालका छिटा तपाईंको नाक-मुखमा पर्न दिँदैन। दोस्रो, कति मानिसलाई कोरोना भाइरसको संक्रमण भए पनि लक्षणहरू देखिँदैनन्। त्यस्तो अवस्थामा थाहै नपाई अरूमा भाइरस सर्नसक्छ। मास्क लगायो र हाँछ्यु गर्दा नाकमुख छोप्यो भने अरू मानिसमा भाइरस जाने सम्भावना कम हुन्छ। तेस्रो, मास्क लगाउँदा अनुहारमा अनावश्यक छुने क्रम घटन सक्छ। मास्क निकाल्दा र लगाउँदा कानतिरबाट गर्न सकिन्छ। तर मास्क लगाएर नाकमुखबाट घरिघरि तलमाथि सार्ने गरे झन् जोखिम बढ्न सक्छ।

९. सबै रूघाखोकी वा ज्वरो कोरोना भाइरस लागेर हुँदैनन्। त्यसै पनि नेपालमा अहिले मौसम परिवर्तन भइरहेको छ। चिसोबाट गर्मी मौसम लाग्दा कतिलाई मौसमी रूघाखोकी देखिन सक्छ। त्यस्तोबेला आत्तिनु हुँदैन। अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ।

कोरोना भाइरसको संक्रमण भइहालेछ भने पनि अस्पताल जाँदा केही दिनको उपचारपछि निको हुन्छ। किनकी अहिलेसम्म कोरोना भाइरस लागेका ५५ हजार १ सय ८५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

कोरोनाको त्रासले कतारले नेपालसहित यी १४ देशमाथि लगाइदियो यस्तो ठुलो प्रतिबन्ध
नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ ।

अल्पकालीन प्रवेशमा रोक लगाइएका मुलुकहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत र इरान । त्यस्तै, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन् ।

विश्वव्यापी रूप लिइरहेको कोरोनाले भाइरसको संक्रमण कोरियामा पनि देखिएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार हालसम्म त्यहाँका १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । यो संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ५८ हजार ६ सय चिनियाँ भने उपचारपछि ठीक भएका छन् । चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ३ सय ६६ जनाको मृत्यु भएको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै इरानमा कोरोना भाइरसका कारण १ सय ४९ जनाको मृत्यु भएको छ । ६ हजार ५ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यसमध्ये २ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन् । ४ हजार २ सय ३८ जनाको उपचार भइरहेको छ । दक्षिण कोरियामा थप २ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ३ सय १३ पुगेको छ ।

त्यहाँ अहिलेसम्म ५० जनाको मृत्यु भएको छ भने उपचारारत ७ हजार १ सय ३३ जनामध्ये ३६ जनाको अवस्था गम्भीर छ । १ सय ३० जना भने निको भएर घर फर्किएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । चीनमा कोरोनाको संक्रमण दर कम हुँदै गएपनि अन्यत्र फैलने क्रम उच्च भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार चीनमा पछिल्लो २४ घण्टामा ३९ जनामा जनामा कोरोनाको संक्रमण देखिएको छ । चीन हालसालै प्रति दश लाख मानिसमध्ये कम्तिमा ५६ जनामा कोरोना फेला परेको छ । जबकी यही दर दक्षिण कोरिया, इटाली, इरान लगायतका मुलुकमा बढिरहेको छ ।

डब्लूएचओका अनुसार प्रति दश लाखमध्ये दक्षिण कोरियामा कम्तिमा १ सय ४२ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ सय २२ तथा इरानमा ७८ जनामा संक्रमण देखिन थालेको छ ।

कोरोनाबाट अमेरिकामा २२ जनाको मृत्यु भएको छ भने फ्रान्समा थप तीन जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्पेनमा १७ जनाको मृत्यु भएको छ । डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुकमा कोरोनाभाइरस देखिदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया