आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अस्पतालमा रहेका प्रम ओलीलाई पिता मोहनप्रसाको यस्तो भावुक सन्देश, नेता कार्यकर्ताका आँखा रसाए

प्रकाशित
41.5K
SHARES

काठमाडाैं । ‘बुबा म अस्पताल जान लागेको,’ फागुन १९ गते साँझ ६ बज्नुभन्दा केही बेरअघि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमै रहेका पिता मोहनप्रसादसामु पुगेर भने। प्रधानमन्त्री ओलीले शिर झुकाएर बिदा हुन लाग्दा मोहनप्रसादले आशीर्वाद दिँदै अस्पतालमा नआत्तिन सुझाव दिए।

‘आत्तिने होइन है भनेर पठाएको हुँ,’ मोहनप्रसादले आइतबार भने, ‘बेलाबेलामा बिरामी परिन्छ। बिमारसँग कोही पनि आत्तिनु हुँदैन। परिवार पनि अत्तालिने होइन।’ स्वास्थ्य समस्यालाई मानिसले स्वभाविक रुपमा लिनुपर्ने उनको बुझाइ रहेको सागर न्यौपानेले नेपालखबरमा समाचार लेखेका छन्  ।

‘काठको खुट्टो, सासको धन भन्छन्। सास भएकालाई बिमार हुन्छ। मान्छेलाई पनि हुन्छ, अरु सबै जीवप्राणी पनि बिरामी हुन्छन्। त्यसबाट डराउने होइन,’ उनले बुझाए । फागुन २१ गते ४ घण्टाभन्दा बढी समय लगाएर त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको दोश्रो मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको थियो। त्यसयता उनी अस्पतालको सघन उपचारकक्षमै छन्।

यता बालुवाटारमा ९० वर्षका पिता मोहनप्रसाद छोराको बिमार निको हुन अलिदिन लाग्ने बताउँदै निश्चिन्त देखिन्छन्। मोहनप्रसाद जसरी छोरा प्रधानमन्त्रीको स्वास्थ्यमा छिटै प्रगति हुने कुरामा आशावादी देखिए, प्रधानमन्त्रीको स्वास्थ्यमा पनि उसैगरी तीव्र सुधार भइरहेको देखिन्छ।

उपचारमा संलग्न चिकित्सक टोलीले उनको स्वास्थ्य क्रमिकरुपमा सुधार भइरहेको र आइतबारदेखि नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको जानकारी दिएको थियो। प्रधानमन्त्री ओलीको पहिलो पटक २०६४ साउनमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसले काम गर्न छोडेपछि दोस्रो पटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिएको हो।

मिर्गौला प्रत्यारोपणका लागि छोरा अस्पताल जाँदै गर्दा पनि मोहनप्रसादले पीडा पोखेनन्। बरु बालुवाटारमा जम्मा भएका आफन्त र शुभेच्छुकहरुलाई समेत ढाडस दिए। ९० वर्षमा उनी ठमठमी हिँड्छन्। अझैपनि यो खाने त्यो नखाने भन्ने छैन। आफ्नो जीऊमा खासै केही रोग नभएको उनले बताए।

६९ वर्षीय प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा धेरै चिन्ता नलिए पनि उनी खानपानमा ख्याल गर्न सुझाइरहन्छन्। ‘खानपिनमा अलि ख्याल नगर्ने बानीबारे बेलाबेला भन्छु,’ उनले भने। ओलीको प्रत्यारोपण सफल भएको पर्सिपल्ट (शुक्रबार) मोहनप्रसाद त्रिवि शिक्षण अस्पताल पुगेपनि डाक्टरले भेट्न नहुने बताएपछि उनी फर्किए।

‘झापादेखि आएकी कान्छी बुहारीसँगै गएको थिएँ। डाक्टरहरुले अहिले मिल्दैन भनेपछि फर्कें,’ उनले भने, ‘अब भोलि जाने कुरा छ। भेट्न दिन्छन्, दिँदैनन्।’ भोलि सोमबार पनि उनी झापादेखि आएका आफन्तहरुसँगै अस्पताल जाने योजनामा छन्। पुराना प्रसंग कोट्याउन रुचाउने मोहनप्रसादले कतिपय विषय श्लोकमै सुनाइरहेका थिए।

कुराकानीका क्रममा उनी दोहोर्‍याइरहेका थिए, ‘छोरोको मन दह्रो छ।’ तीन वर्षकै उमेरमा आमाको निधन भएपछि केपी शर्मा ओलीलाई उनकी हजुरआमाले हुर्काएकी हुन्। २०११ सालमा आमाको मृत्यु भएपछि ओलीको सबै रेखदेख हजुरआमा राममाया ओलीले गरेकी हुन्। हजुरआमाले उनलाई घरमा ध्रुव भनेर बोलाउँथिन्।

पढाई लेखाइमा टाठो उनी सानो हुञ्जेल परीक्षामा कस्तो नतिजा आउँछ, ढुक्कसँग भन्न सक्थे। कक्षा ४ मा पढ्दै गर्दा ग्रामीण विद्यालयमा उनको नतिजा सोचेभन्दा फरक आएपछि ओलीले त्यसको प्रतिवाद गरेका थिए।

आफ्नो नतिजामा चित्त नबुझेपछि उतिबेला गाउँका टाठाबाठा जन्तरे प्रसाईंलाई गुहारेका थिए। प्रसाईं मोहनप्रसादलाई पनि लिएर हेडमास्टरकहाँ गए। त्यहाँ पुगेर फाइल हेर्दा केपीले भनेजस्तै नम्बरमा तलमाथि गरिएको देखियो। छोरा बोलीको पक्का र साहसी रहेको त्यतिबेलै मोहनप्रसादले भेउ पाएका हुन्।

त्यसपछि केपी ओलीले त्यो स्कुल पढ्न मन गरेनन्। त्यहाँ पढ्दा रिस साँध्न सक्छन् भन्ने बुझेर उनी घैलाडुब्बा स्कुल जान थाले। त्यहीँ उनले पाँच वर्ष पढे। पढ्दै गर्दा ओलीले गाउँमा धनीमानीले गरेको थिचोमिचोविरुद्ध आवाज उठाएको खबर मोहनप्रसाद सुनिरहन्थे।

‘बलियाले दुब्लालाई घचेटेको र धनीले गरिबलाई हेपेको उसले सानैदेखि मन पराएन, त्यसको सधैँ विरोध गर्‍यो,’ मोहनप्रसादले सम्झे, ‘त्यतिबेलैदेखि ऊ ठूलाबडाको तारो बन्यो, तिनले नै जेलमा पारे।’ छोरा पक्राउ परेको खबर पाएपछि काठमाडौंको सेन्ट्रल जेल आउँदा उनले भेट्न नपाएको तीतो स्मरण पनि सुनाए।

जेलमा बसेदेखि नै छोराको स्वास्थ्य बिग्रेको उनको ठहर छ। ‘उसको स्वास्थ्य झ्यालखानामा बस्दादेखि बिग्रिएको हो,’ उनले भने। प्रधानमन्त्री ओलीलाई भेट्न यसपाली फागुन ९ गते मोहनप्रसाद काठमाडौं आएका हुन्। उनी वर्षैपिच्छे दशैँमा टीका लगाइदिन र हिउँदमा प्रायः छोरालाई भेट्न काठमाडौं आइरहन्छन्।

फागुन ११ गते छोरासँगै उनीपनि तेह्रथुमको जन्मस्थान गए हेलिकप्टरमा। मोहनप्रसाद र केपी दुवैको जन्मस्थान हो तेह्रथुम। त्यहाँ प्रधानमन्त्रीको जन्मोत्सव विशेषरुपमा मनाइयो। फागुन १९ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपणको लागि अस्पतालतर्फ जाँदै गर्दा प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था चाँडै सुधार हुनेमा ढुक्क थिए।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ,’ अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश दिँदै प्रधानमन्त्रीले भनेका थिए। उनले एक हप्ताभित्रै आफू अस्पतालबाट आएर मन्त्रिपरिषद् बैठक राख्ने र आफ्नो काममा फर्किने बताएका थिए।

प्रधानमन्त्री ओलीको आत्मबल देखेर चिकित्सकहरु पनि चकित परेका थिए। प्रत्यारोपणपछि पनि उनी बालुवाटार आएर नियमित काममा फर्कन आतुर रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्। मोहनप्रसादका कुरा सुन्दा प्रधानमन्त्रीमा त्यो आत्मविश्वास पिताबाटै सरेको स्पष्टै झल्किन्थ्यो।

आफ्नो परिवारमा सबै लामो आयु बाँच्ने गरेको वृत्तान्त सुनाइरहेका थिए मोहनप्रसाद। ‘मेरी आमा ९९ वर्षमा बित्नुभएको हो,’ उनले भने, ‘मैले पनि आमाकै उमेर पछ्याइरहेको छु।’

प्रधानमन्त्री रहेकाे अर्का नेकपा अध्यक्ष केपी ओलीलाई डिस्चार्ज हुन ‘हतार’, तर यसाे भन्छन् चिकित्सक
बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खान र सामान्य डिँडडुल गर्न सक्ने अवस्थामा रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले प्रधानमन्त्री ओली डिस्चार्ज गर्न मिल्ने अवस्थामा पुगिसकेका छन् । तर, मिर्गौला प्रत्यारोपण पछि ‘हाइ डोज’को औषधि सेवन गरीरहेको अवस्थामा संक्रमणको जोखिम रहेको भन्दै प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राख्ने योजना चिकित्सकको छ ।

‘उहाँको अहिलेको स्वास्थ्य अवस्थालाई हेर्दा त भोली वा पर्सीमा नै डिस्चार्ज गर्न सकिन्छ, तपाईं हामी जस्तै गरी प्रधानमन्त्री पनि हिँड्न सक्ने भइसक्नु भएको छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘तर अस्पतालबाट डिस्चार्ज भएपछि संक्रमण हुनसक्छ, त्यसैले थप २–३ दिन अस्पतालमै राख्ने निर्णय लिएका छौं ।’

चिकित्सकहरुले संक्रमणको जोखिम हुने भन्दै केही दिन अस्पतालमै रहन आग्रह गरे पनि प्रधानमन्त्री ओली भने छिट्टै डिस्चार्ज हुन चाहेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीज्युले त डिस्चार्ज हुन हतारो गर्दै हुनुहुन्छ, तर उहाँले चाहेर मात्र हामीले डिस्चार्ज गर्नेकुरा हुँदैन,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘संक्रमणको रिक्स लिनु हुँदैन भनेर केही समय अस्पतालमै राख्ने डिसिजन हामीले गरेका छौं ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भए पनि संक्रमणको जोखिम कायमै रहेकाले चिकित्सक बाहेक अन्य व्यक्तिलाई भेट्न भने दिइएको छैन । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी नाता पर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संग्रौलाले समेत प्रधानमन्त्री ओलीलाई भेट्न भने पाएकी छैनन् ।

प्रधानमन्त्रीका ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले संग्रौलालाई आफूले भेटेको र भेटमा संग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट्ने चाहना राखेको बताएका छन् । संगौलाले प्रधानमन्त्रीलाई भेट्ने चाहना गरेको कुरा उल्लेख गर्दै रिमालले सामाजिक सञ्चाल ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रिज्युलाई मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौलालाई सोधेंः कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाहिँ कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ । मैले भनेः तपाईं पहिलो भिजिटर हुनुहुने छ ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीलाई संक्रमणको जोखिम हुने भएकाले चिकित्सक बाहेक अरुले नभेटेको बताए । थापाका अनुसार चिकित्सकबाहेक प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो व्यक्ति संग्रौला नै हुनेछिन् ।

‘समीक्षाजीले पनि अहिलेसम्म भेट्न पाउनुभएको छैन, प्रधानमन्त्रीज्युका प्रमुख सल्लाहकार (विष्णु रिमाल) ले समीक्षाजीलाई भेट्नुभएको थियो, उहाँले मामालाई भेट्न पाउँ भन्नुभएको रहेछ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने, ‘चिकित्सकवाहेक प्रधानमन्त्रीलाई भेट्ने पहिलो भिजिटर उहाँ नै हुनुहुनेछ ।’

चिकित्सकका अनुसार संग्रौलाले चाहेको अवस्थामा प्रधानमन्त्री ओलीलाई भेटाउन सकिने अवस्था छ । तर, प्रधानमन्त्री ओली र संग्रौला फरक–फरक वार्डमा रहेकाले भेटाउन नसकिएको चिकित्सकले बताए ।

‘समिक्षाजीले चाहनुभएको अवस्थामा उहाँलाई प्रधानमन्त्रीसँग भेटाउन सकिने अवस्था छ, तर प्रधानमन्त्री र समीक्षालाई राखेको ठाउँ फरक–फरक वार्ड भएकाले प्रधानमन्त्री भएको ठाउँमा ल्याउँदा बाटोमा भिड लाग्नसक्ने भएकाले हामीले भेटाएका छैनौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘वार्ड बाहिर धेरै जना भएकाले मात्र नभेटाएका हौं, समय मिलाएर उहाँहरुलाई भेटाउँछौं ।’

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको यसै सातामा डिस्चार्ज भइसक्ने बताए । ‘उहाँ (प्रधानमन्त्रीलाई) धेरै दिन राख्ने काम हुँदैन, तर केही दिन चाहिँ इन्फेक्सन नहोस् भनेर राख्ने कुरा भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने, ‘तर यो सातामै डिस्चार्ज हुनुहुनेछ ।’

प्रतिक्रिया