आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनुपर्छ – गगन थापा

प्रकाशित
1.4K
SHARES

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट सचेत रहनुपर्ने बताएका छन्। उनले कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनुपर्नेमा जोड दिए।

‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन,’ प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ। हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन।’

उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताए। ‘सुझबुझपूर्ण तयारी गरौं। सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु,’ उनले भने, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं।’ उनले कोरोनाभाइरस संक्रमणबाट जोगिन एक्सन प्लान बनाउनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय सरकार मिलेर एकीकृत प्रयासमा जुट्नुपर्ने उनले बताए।

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए। उनले खालि होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने उनले बताए। संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई कांग्रेस सांसद दिब्यमणिराज भण्डारी, राजेन्द्र केसीले समर्थन गरेका छन्।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ ।

मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने, सङ्क्रमणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गर्नुभएको सो अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न, स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

यसैगरी भीडभाड भएको ठाउँमा सकभर नजाने, राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुरा नखाने, साबुन पानीले पटकपटक राम्ररी हात धुने, खानाखाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने, हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने गर्न पनि सो अपिलमा भनिएको छ ।

कुनै विद्यार्थीलाई ज्वरो रुघा(खोकी देखिएमा विद्यालय/शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहाट अलग्गै राख्न, अभिभावकलाई तत्काल सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउन, नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाहअनुसार उपचार गर्ने गराउन, ज्वरो र रुघा(खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्न पनि भनिएको छ ।

विश्वव्यापी सो सङ्क्रमणको स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्न, सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्न, शिक्षण संस्थाबीच सूचनाको नेटवर्क गर्न, आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय/शिक्षण संस्थामा ‘फोकल पोइन्ट’ तोक्न पनि आग्रह गरिएको छ ।

अनावश्यक हल्लाले विद्यार्थीलाई त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउन, सङ्क्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्त/अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिन र सरकारी आधिकारिक निकायबाट आउने सूचना सबैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया