आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी, ६ घण्टामा प्रत्यारोपण सकिने

प्रकाशित
1.4K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ ।

शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी रहेकाे उनले बताए ।  प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ।

परीक्षणमा सम्पूर्ण रिपोर्ट राम्रो आएपछि मिर्गौला प्रत्यारोपणको तयारी गरिएको हो । अहिले बिहान ९ बजेदेखि सुरु हुने प्रत्यारोपणको काम करिव ६ घण्टामा सकिनेछ ।ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।

२०६४ साल साउनमा दिल्लीस्थित अपोलो अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण पनि डा. अनन्तकुमारकै नेतृत्वमा भएको थियो। ३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेको बताइन्छ ।

किङ जर्ज मेडिकल युनिभर्सिटी लखनउबाट एमबीबीएस, पिग्मेयर चन्ढीगढबाट एमएस, एमसीएच (युरोलोजी) र बीएनडी (युरोलोजी) गरेका डा. अनन्तकुमारसहित टोली प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन नेपाल आएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए ।

मिर्गौला प्रत्यारोपणअघि गर्नुपर्ने नियमित प्रक्रियाअन्तर्गत मंगलबार उनको डायलसिस गरिएको हो । यसैबीच नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रधानमन्त्रीले मुलुकमै नेपाली चिकित्सकबाट आफ्नो उपचार गराउने निर्णयप्रति समेत उच्च सम्मान प्रकट गर्दै सबै उच्च ओहोदामा रहेकाहरूलाई स्वदेशमै उपचार गराउनसमेत संघले आग्रह गरेको छ ।

नेपाल ट्रान्सप्लान्ट सोसाइटीका अध्यक्ष प्रा.डा. भोलाराज जोशीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमै प्रत्यारोपण गर्ने निर्णय गरेर सबै नेपाली चिकित्सकको हौसला बढाएकामा आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया