आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मिर्गौला प्रत्यारोपण लागि प्रधानमन्त्रीलाई आवश्यक औषधि दिन थालियाे

प्रकाशित
2K
SHARES

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताएको छ । मंगलबार दिउँसाे प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत जानकारी दिइएको छ ।

अस्पतालले प्रत्यारोपण अगाडि गरिने नियमित डायलसिस तथा ल्याब परीक्षण गरिने क्रम जारी भएको विज्ञप्तिमार्फत जनाएको छ। साथै ओलीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरु निरन्तर निगरानीमा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताएका छन्।

प्रधानमन्त्रीओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालको ‘एनएक्स–२’ को क्याबिन ६०१ मा सोमबार साँझ भर्ना भएका हुन्। अस्पतालका निर्देशक डा. खड्काका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुवास आचार्यलगायत छन्।

डा. ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो। अन्य विभिन्न विभागका विशेषज्ञ चिकित्सकलाई समेत प्रधानमन्त्रीको प्रत्यारोपणअन्तर्गत जुनसुकै बेला उपस्थित हुने गरी तम्तयार भएर बस्न भनिएको छ। ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने पूर्वनिर्धारित तालिकाअनुसार हाल अस्पतालले विभिन्न चिकित्सकीय प्रक्रिया अगाडि बढाइरहेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान विशेष पूजा गरिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरिएको हो ।

विशेष पूजाका लागि ओलीका आफन्त बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । सोमबार ओलीका परिवारीक सदस्यले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने इच्छा गरेबमोजिम आज विहानै करिव १० मिनेट बिशेष पूजाआजा गरिएको बताइएको छ । पशुपतिका मूलभट्ट गणेश भट्टलगायतले ओलीको सुस्वास्थ्य तथा मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित पूजा गरे पनि पशुपती क्षेत्र विकास कोषले भने यसबारे जानकारी नभएको जनाएको छ ।

‘यसबारे हामिलाई केही जानकारी छैन, पारिवारिक रुपमा उहाँहरुले आएर पूजाआजा गरेको हुनसक्छ ।’ कोषका सदस्य सचिव प्रदीप ढकालले भने । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पीठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो ।

नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको बताए ।

प्रतिक्रिया