आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

प्रकाशित
866
SHARES

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन् ।

राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालका अनुसार खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७ को उपधार २ अनुसार प्रधानमनत्री ओलीले सम्हाल्ने गरी तोकिएको हो । खतिवडाको राष्ट्रिय सभा सदस्य पद आजैबाट सकिने भएपछि उनले मंगलबार दिउँसो राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।

यस्तै खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि कानुनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए । उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताए ।

उनले भने, ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगट्ने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अब अन्त्य हुनुुपर्छ । लाइसेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिएँ, अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाली रहँदा यहाँ पनि त्यो प्रवृति रहेछ हेर्नुस् । यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अब अन्त्य हुनुपर्छ, यसरी हुँदैन ।’

मन्त्री खतिवडाले दूरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए । उनले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दबावमा परेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठ्ने समेत बताए ।

उनले अबको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए । क्रिप्टोकरेन्सी, क्राउडसोर्सिङ, ई-कमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरीय बनाउन ध्यान दिन उनले आग्रह गरे । उनले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताए । जवाफदेही विनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न उनले निर्देशन दिए ।

प्रतिक्रिया