आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउने बालुवाटार बैठकको निर्णय

प्रकाशित
2K
SHARES

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि सरकारले उच्च सतर्कता अपाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए ।

बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।

स्रोतकाअनुसार बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो । अब यो समितिले नै यसबारे अध्ययन गरेर आवश्यक निर्णय गर्नेछ । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि आवश्यक निर्णयहरु यही समितिमार्फत गर्न निर्देशन दिएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्दशन दिएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित एक जना नेपालमा पनि भेटिएका थिए । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् । कोरोना संक्रमणको आशंकामा दुई सय बढीको नमूना लिइएको थियो तर सबैको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको आएको छ । तर, पछिल्लो समय इरान, इटली र दक्षिण कोरियामा कोरोना संक्रमण फैलिएको छ भने मध्ययूर्व र युरोपका देशहरुमा पनि देखिएको छ ।

यस्तै मध्यपूर्वी मुलुक कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसले आक्रान्त पारेको अर्को मध्यपूर्वी मुलुक इरानबाट फर्काइएका व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । कतारको स्वास्थ्यमन्त्रालयलाई उद्धृत गर्दै कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार ३६ वर्षे संक्रमितको स्थीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

इरानबाट आपतकालीन उद्धार गरी स्वदेश फर्काएर क्वारेन्टाइनमा राखिएका व्यक्तिमा यसको संक्रमण देखा परेको जनाइएको छ । शुक्रबारमात्र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको प्रकोप बढ्दै गएको जनाएको थियो । हालसम्म विश्वभर कोरोनाभाइरसबाट २८ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने विश्वभर हजारौं संक्रमित छन् । कतारमा ४ लाख धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका छन् ।

प्रतिक्रिया