आज : गते

ताजा शिर्षकहरु

नेकपाको संविधान संसोधन कार्यदल भङ्ग

प्रकाशित
608
SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा सो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिएका हुन् । ‘चर्चामा आएको संविधान संशोधनको लागि गृहकार्य गर्न बनाइएको कार्यदल नरहेको, क्रियाशील नहुने जानकारी पनि गराउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

बामदेव गौतमको इच्छा पूरा गर्ने प्रयत्नस्वरुप शनिवारको नेकपाको सचिवालय बैठकले ३ सदस्यीय कार्यदल बनाएको थियो । तर जनस्तरबाट समेत यसको चौतर्फी विरोध भएपछि नेकपा निर्णय गरेको ४ दिनमै उक्त निर्णयबाट पछि हटेको हो ।

यस्तै नेककपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । ०७४ मा प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट तत्कालीन वामगठबन्धनबाट उम्मेदवार बनेका गौतम पराजित भएका थिए ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा अस्वीकृत भएपछि सचिवालयमा पुगेको पाइएको छ । सचिवालयले यसका लागि कार्यदल गठन गरेको भएपनि नेताहरुले सार्वजनिक रुपमा स्वीकार गर्न समेत सकेका छैनन् ।

पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि संविधान संशोधनका लागि कार्यदल गठन गर्ने सहमति गरेका सचिवालयका नेताहरु तैचुप मैचुपको अवस्थामा पुगेका छन् । संविधान संशोधन गर्ने प्रस्ताव पुसमा सम्पन्न स्थायी कमिटी बैठकको अन्तिम दिन नै आएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया