आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

७० करोड काण्ड सेलाउन नपाउदै बास्कोटाबारे अर्काे खुलासा

प्रकाशित
36.2K
SHARES

काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिनाप्रतिस्पर्धा (जी–टू–जीमार्फत) उनले परियोजना अघि बढाएका थिए ।

अध्ययन समितिले नेपालले राख्ने भनेको स्लट (१२३.३ पूर्वी देशान्तर) व्यावसायिक प्रयोजनका लागि अनुपयुक्त हुने भन्दै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) सँग अर्को स्लट माग गर्न सुझाव दिएको थियो । बाँस्कोटाको युरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग स्याटेलाइट खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । विजय तिमल्सिनाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा आशयपत्र माग गरेको थियो । जसमा अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । यति धेरै प्रस्ताव परेको भए पनि सरकारले सोझै एक कम्पनीलाई जी–टू–जी प्रक्रियामार्फत स्याटेलाइट निर्माणको जिम्मा दिँदा लागत महँगो पर्ने र सरकारको भूमिका कम हुने जानकारहरू बताउँछन् ।

बिनाप्रतिस्पर्धा एक कम्पनीसँग खरिद गर्न लागिएको भन्दै यो प्रक्रिया आलोचित बनेको छ । यो प्रक्रिया अब के हुने भन्ने नयाँ मन्त्रीको बुझाइ र बाँस्कोटामाथिको छानबिनमा निर्भर रहनेछ । आशयपत्र अध्ययन समितिमा रहेका प्राधिकरणका एक जना निर्देशकका अनुसार आशयपत्र पेस गर्ने भारत र चीनका कम्पनीले आफ्नै लगानीमा स्याटेलाइट निर्माण गरिदिने र नेपालले पछि पैसा तिरे हुने खालको प्रस्ताव गरेका थिए ।

अन्य देशका केही कम्पनीले भने सरकारी तवरबाट सहुलियतपूर्ण ऋणका लागि पहल गरिदिने प्रस्ताव पेस गरेका थिए । ‘त्यो बेला स्याटेलाइट निर्माणका लागि नभई हामीले स्याटेलाइट राख्यौं भने कुन–कुन देशका कुन–कुन कम्पनीको चासो होला भन्ने जान्नका लागि आशयपत्र माग गरिएको थियो,’ ती अधिकारी भन्छन्, ‘धेरै देशबाट प्रस्ताव परेपछि स्याटेलाइट राख्दा धेरै विकल्प पाइने आशा पलाएको थियो ।’

बाँस्कोटाकै सक्रियतामा गत वर्ष फागुनमा फ्रान्सका दुई कम्पनीसँग स्याटेलाइट र सेक्युरिटी प्रेस स्थापनाका लागि समझदारी भएको थियो । स्याटेलाइट राख्नेसम्बन्धी समझदारीपत्रमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालका तर्फबाट फ्रान्सेली कम्पनीसँग हस्ताक्षर गरेका थिए । समितिले दिएको सुझावविपरीत उक्त परियोजना अघि बढाउँदा दूरसञ्चार प्राधिकरण र मन्त्रालयकै केही कर्मचारीले आपत्ति जनाएका थिए । बाँस्कोटाले असहमति जनाउने कर्मचारीलाई पाखा लगाउँदै नजिकका कर्मचारीलाई मात्रै स्याटेलाइट खरिद प्रक्रियामा समावेश गर्दै आएका थिए । स्रोतका अनुसार विवादित यति समूहका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको पहलमा फ्रान्सेली कम्पनीसँग स्याटेलाइट खरिदका लागि समझदारी प्रक्रिया अघि बढेको थियो ।

स्याटेलाइट खरिदबारे जानकारी गराउन नेपालमा स्याटेलाइट प्रयोग गर्ने निकायहरूलाई बोलाएर मन्त्रालयले छलफल गरेको थियो । साउनमा भएको छलफलमा डिसहोमसहित बढी स्याटेलाइट व्यान्डविथ खपत गर्ने कम्पनीहरूले सरकारले राख्न लागेको स्याटेलाइट प्रसारण प्रयोजनका लागि अनुपयुक्त हुने बताएका थिए तर छलफलमा सहभागी मन्त्रालयका कर्मचारीले स्याटेलाइट जसरी पनि राख्ने र त्यसलाई नेपालका कम्पनीहरूले अनिवार्य प्रयोग गर्नुपर्ने बताएको स्रोतले जानकारी दिएको छ ।

वीरेन्द्र प्रधानको संयोजकत्वमा सरकारले गठन गरेको स्याटेलाइट रणनीतिसम्बन्धी अध्ययन समितिले गत जनवरीमा प्राधिकरणलाई बुझाएको प्रतिवेदनमा आईटीयूसँग स्याटेलाइट राख्ने स्लट परिवर्तनका लागि माग गर्न, आफूले पाएको स्लट अरूलाई भाडामा दिन र अर्को स्लट भाडामा लिन सुझाव दिएको थियो । प्रतिवेदनमा नेपाललाई अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) ले उपलब्ध गराएको स्लटमा स्याटेलाइट राख्दा त्यसको फुटप्रिन्ट (प्रभाव क्षेत्र) नेपालमा मात्रै केन्द्रित हुने उल्लेख छ । प्रतिवेदनमा नेपालले आईटीयूबाट पाएको स्थानमा स्याटेलाइट राख्दा प्रभाव र पैसा दुवै हिसाबले लाभदायी नहुने जनाइएको छ ।

आईटीयूले नेपालका लागि ५० डिग्री पूर्वी देशान्तर र १२३.३ डिग्री पूर्वी देशान्तरमा स्याटेलाइट राख्नका लागि स्लट दिएको छ । नेपालले १२३.३ डिग्री पूर्वी देशान्तरमा स्याटेलाइट राख्ने तयारी गरेको हो । आईटीयूले दिएको स्लटमा सन् २०१५ भित्र स्याटेलाइट राखिसक्नुपर्ने भए पनि नेपालले अनुरोध गर्दै समय थप्न लगाएको थियो ।

नेपालले आईटीयूबाट पाएको स्लट (१२३.३ डिग्री पूर्वी देशान्तर र ५० डिग्री पूर्वी देशान्तर) १५ वर्षका लागि भाडामा दिँदा क्रमशः तीन खर्ब र एक अर्ब पाउन सक्ने अनुमान प्रतिवेदनमा गरिएको छ । सन् २०१६ मा भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) ले १२ वर्ष स्लट भाडामा लिनका लागि साढे दुई अर्ब रुपैयाँ दिने प्रस्ताव गरेको थियो ।

बंगलादेशले पनि आईटीयूले आफूलाई उपलब्ध गराएको स्लट प्रभावकारी नहुने भएपछि रुसबाट १५ वर्षका लागि स्लट भाडामा लिएको प्रतिवेदनमा उल्लेख छ । बंगलादेशले ११९.१ डिग्री पूर्वी देशान्तरमा स्याटेलाइट राख्नका लागि रुसबाट करिब तीन अर्ब रुपैयाँ तिरेर स्लट लिएको हो । पछिल्लोपटक श्रीलंकाले २०६९ मंसिर १२ र बंगलादेशले २०७५ वैशाख २८ मा स्याटेलाइट प्रक्षेपण गरेका थिए ।

टेलिकम सेवा प्रदायक, टीभी, डाइरेक्ट टु होम प्रविधि गरी नेपालमा हाल करिब ६ सय मेगाहर्ज स्याटेलाइट व्यान्डविथ खपत भइरहेको छ । यो व्यान्डविथको माग आगामी १५ वर्षमा बढेर १ हजार २४० मेगाहर्ज पुग्न सक्ने आंकलन छ । ५० डिग्री स्लटमा नेपालले ब्रोडकास्टिङका लागि कुल ३२४ मेगाहर्ज व्यान्डविथ क्षमताका १२ वटा ट्रान्सपोन्डर राख्न सक्नेछ ।

यो स्लटमा हुने सबै ट्रान्सपोन्टरबाट प्राप्त हुने व्यान्डविथ पूर्ण क्षमतामा प्रयोग भए वार्षिक सवा अर्ब रुपैयाँ आम्दानी हुनेछ । यसबाट हुने लाभ प्रतिवर्ष एक प्रतिशत पनि नपुग्ने प्रतिवेदनमा जनाइएको छ । १२३.३ पूर्वी देशान्तरमा रहने स्याटेलाइटमा ३८ वटा ट्रान्सपोन्डर राख्न सकिने प्रतिवेदनमा उल्लेख छ । हरेक ट्रान्सपोन्डरमा ३६ मेगाहर्ज व्यान्डविथ हुने अनुमान छ । पूर्णरूपमा उपयोग भए प्रतिट्रान्सपोन्डर प्रतिवर्ष १० लाख अमेरिकी डलर आम्दानी गर्न सकिने प्रतिवेदनमा औंल्याइएको छ ।

तत्कालिन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाबारे बल्ल खुल्यो यस्तो नयाँ रहस्य
भीआईपी उडान प्रक्रिया तय नहुँदा हेलिकप्टरको आफूखुसी उडान गर्ने प्रवृत्तिका कारण पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनामा परेको रहस्य खुलेको छ । नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । तर विशिष्ट व्यक्ति (भीआईपी)को उडान प्रक्रिया स्पष्ट नतोकिएको पाइएको छ ।

१५ फागुन २०७५ मा पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो । त्यसपछि सरकारले छानविन आयोग गठन गरेको थियो । आयोगले आफ्नो अन्तिम प्रतिवेदन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ । प्रतिवेदनमा पाइलट वा हिमआँधीका कारणभन्दा पनि नेपालको हवाई उडानको प्रद्धती र प्रणालीका कारण दुर्घटना भएको उल्लेख छ ।

काठमाडौंबाट उडेको एयर डाइनेष्टी हेलि सर्भिसको ९ एनएएमआई हेलिकप्टरको उडान काठमाडौं-तेह्रथुम-काठमाडौंका लागि निर्धारित थियो । यसको जानकारी काठमाडौं टावरसँग थियो । त्यहीअनुसार हेलिकप्टर काठमाडौंबाट उडेको थियो ।

तर, दुर्घटना पाथिभरामा भएको छ । त्यस विषयमा आयोगले भीआईपी उडानको प्रक्रिया आवश्यक रहेको देखाएको हो । भीआइपी उडानको प्रक्रिया भएको भए जति सुकै ठूलो मान्छेले आग्रह गरेको भएपनि हेलिकप्टर पूर्वनिर्धारित प्रक्रिया र रुटभन्दा बाहिर गएर उड्न सक्ने थिएन । हेलिकप्टरमा एयर डाइनेस्टीका मालिक आङछिरिङ शेर्पासमेत सवार थिए ।

छानविन आयोगका संयोजक यज्ञप्रसाद गौतमका अनुसार तेह्रथुमबाट पाथिभरा जाने योजना कहाँ कसरी बन्यो भन्ने पुष्टी हुन सकेको छैन । ‘काठमाडौंबाट तेह्रथुम पुगेर काठमाडौं नै फर्कने योजनाअनुसार उडेको हेलिकप्टर कसरी पाथिभरा जाने योजना कसरी बन्यो, त्यसको पुष्टी हुने आधार देखिएन,’ उनले भने ।

एयरबस हेलिकप्टरले निर्माण गरेको यो हेलिकप्टरको स्टान्डर्ड क्षमता ६ सीट हो । तर, आवश्यक परेको बेला हेलिकप्टरले ७ जनासम्म बोक्ने सक्ने स्पष्ट उल्लेख गरेको छ । १० हजार सीटभन्दा तलको उचाइमा उड्दा हेलिकप्टरले सजिलै पूरा लोड थाम्न सक्थ्यो । तर, पाथिभराको उचाइमा यो लोड अधिक थियो । लोडकै कारण दुर्घटनामा पर्‍यो भन्न नसकिए पनि त्यसले उडानमा कतै प्रभाव पार्‍यो की भन्ने आंशका प्रतिवेदनले उठाएको छ ।

त्यसमाथि हेलिकप्टरको अगाडिको सीटमा बढी वेट भएका व्यक्ति बस्दा त्यसले एक त पाइलटलाई उडानमा असर गर्छ । अर्कोतर्फ हेलिकप्टरमा इन्धन बोक्ने ट्यांकी पछाडि हुन्छ । जब हेलिकप्टर बढी समय उडिसक्छ र इन्धन खपत हुन्छ, त्यसपछि पछाडिको तौल कम हुन थाल्छ । यस्तो अवस्थामा अगाडि बढी तौल र पछाडि हलुका हुने अवस्थामा समेत हेलिकप्टरको सन्तुलन बिग्रन जान्छ ।

प्राधिकरणले उच्च हिमाली भेग र पहाडमा उड्ने हेलिकप्टरमा अगाडि दुई जना राख्न सक्ने गरी अनुमति दिँदा त्यसले दुर्घटनाको जोखिम निम्याउने आयोगको भनाइ छ । यसमा पुनर्विचार गर्न आयोगको सिफारिससमेत रहेको छ । सामान्यतया पाइलटले इन्जिन स्टार्ट गरेको केही मिनेटसम्म टेकअफ गर्दैनन् । तर, पाथिभरास्थित हेलिप्याडमा करीव ४५ मिनेट रोकिएको हेलिकप्टरको इन्जिन स्टार्ट भएको एक मिनेटभित्रै उडेको थियो ।

उड्नासाथ शक्तिशाली हिमआँधीको शिकार हेलिकप्टर बन्न पुगेको देखिएको छ । त्यसकारण केही मिनेट इन्जिन स्टार्ट गरी त्यसपछि मात्र उड्नुपर्नेमा हतार-हतार उडेको पाइएको छ । बिग्रिएको मौसमबाट बच्न पाइलटले हतार-हतार उडाए पनि उनको यो निर्णय गलत बनिदिएको छ ।

आयोगका अनुसार पाथिभरामा करीव ४५ मिनेट रोकिएको हेलिकप्टर उडाइहाल्न त्यहाँ अन्य यात्रु तथा माध्यमबाट दबाब दिइएको थिएन । पाइलट आफैंले मौसमको आंकलन गरी हेलिकप्टर उडाउने निर्णय लिएका थिए ।

अघिल्लो दिनबाटै बिग्रिएको मौसमका कारण पाथिभरा पुगेका उनी राम्रो मौसम हुनासाथ उड्नुपर्ने पक्षमा थिए । उक्त दिन पाथिभरामा ठूलो हावाहुरीसहित हिउँ परिरहेको थियो ।पाथिभरास्थित हेलिप्याडबाट उडेको एक मिनेटभित्रै हेलिकप्टर भीरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

सामान्यतया हेलिकप्टरबाट सीधै पाथिभरा जानेहरुका लागि यहाँ हाइअल्टिच्युडको खतरा हुन्छ । कतै उनी पनि यस समस्याबाट आत्तिएका थिए की भन्ने आंशका आयोगले गरेको छ । ४५ मिनेटसम्म बस्दा मानिसको शरीर स्वस्थ रहेपनि अक्सिजनको कमीले मस्तिष्कमा केही प्रभाव पारेको हुन सक्ने आंकलन गरिएको छ ।

यस्तो अवस्थामा मानिसले कठिन परिस्थितिमा जुन सुझबुझसहित निर्णय लिन सक्नुपर्ने थियो, त्यो लिन नसक्ने आयोगको भनाइ छ । युवा पाइलट अविवाहित थिए । घरमा कुनै पारिवारिक तनावसमेत नरहेका कारण पाइलटले जानजान कुनै गल्ती गरेको प्रमाण भने भेटिएको छैन । हेलिकप्टरसमेत सन् २०१६ मा बनेको नयाँ थियो ।

प्रतिक्रिया