काठमाडौं । इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनु भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।
महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए । कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ ।
राष्ट्रपति चिनफिङले लेख्नु भएको छ, “तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।” उहाँले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गर्नुभएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया