आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

झरी झेल्दै सात लाख बढीले गरे पशुपतिनाथ दर्शन

प्रकाशित
1.4K
SHARES

काठमाडौं । महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेको छ र आज अपराह्नको समयसम्म सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

आज रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले भगवान् पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको कोषका कर्मचारी गौरीशङ्कर पराजुलीले बताए । शिवरात्रिका दिन वर्षा हुनुलाई शुभ मानिन्छ र अपराह्नदेखिको झरीको कुनै परवाह नगरी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका र करीब सात हजार तीर्थयात्री, भक्तजनलाई ओत लाग्ने व्यवस्था गरिएको उनले बताए ।

पचपन्नवटा धार्मिक–सामाजिक सामाजिक संस्थाले वनकालीमा एकीकृत रुपमा करीब पाँच हजार भक्तजनको सुुविधाका निम्ति भोजन, घामपानी छेक्ने त्रिपाल र पण्डाल खडा गरेका तथा भारतबाट आएका झण्डै २५०० तीर्थयात्रीलाई त्यस्तै सुरक्षित संरचना बनाएकाले तीर्थयात्रीको बिचल्ली नभएको पराजुलीले स्पष्ट पारे ।

साधु, सन्त, महन्त, नाँगा बाबा लगायतले धुनी जगाएर जाडोभगाएका र उनीहरुलाई पनि मन्दिर परिसर, राममन्दिर, भष्मेश्वरसहित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको छ । महाशिवरात्रिका दिन पाशुपत क्षेत्रमा सुरक्षालगायत सम्पूर्ण व्यवस्थापन पक्षलाई कोषसहित सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहभाागितामा एकीकृतरुपमा सुदृढ तुल्याइएको र कुनै किसिमका अप्रिय घटना नभएका प्रहरी वृत्त गौशालले जनाएको छ ।

उता भारतको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर पूजा अर्चना गरेका छन् । पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको थिए । सो अवसरमा पूर्वराजालाई मन्दिर व्यवस्थापनका बारेमा जानकारी दिइएको उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वराजा आफ्नी बहिनी शोभा शाह र ज्वाइँ कुमार मोहन बहादुर शाहीसहित भारत भ्रमणमा छन्। शाह दम्पत्ति अमृतसरबाट शनिबार दिल्ली जानेछन् । गत आइतबार आइतबार अपराह्न पूर्वराजा दिल्ली प्रस्थान गरेका थिए । दुई साता भारतको भ्रमणका क्रममा पूर्वराजा शाहले राजनीतिक नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । पूर्वराजा शाह १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया