आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ३२९ जनाको कैद मिनाहा

प्रकाशित
743
SHARES

काठमाडौं । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार काठमाडौंको टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगलाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लाहरुमा पनि यो दिवस मनाइँदै आएको छ ।

दिवसका अवसरमा फागुन ६ गतेदेखि नै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आए पनि फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । टुँडिखेलमा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । यस्तै फागुन ८ गतेसम्म घर-घरमा साँझ दीपावली गर्न तथा विद्यालय, संघ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।

प्रतिक्रिया