आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुशासन कायम राख्न सरकार प्रतिबद्ध, विरोध गर्नुको अर्थ छैन – मन्त्री बाँस्कोटा

प्रकाशित
1.1K
SHARES

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, ‘बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।’

पनौती नगरपालिका–१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई ‘बालमैत्री स्थानीय शासन वडा घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने बताए ।

उनले भने, ‘लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि भन्दै आएको हो, अहिले आएर कोही लड्यो त हामीले रामराम भन्ने हो ।’ मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचार गर्नुभएन, जनताको सम्पत्ति कहीँकतैबाट दुरुपयोग नहोस् ।’

सुख र समृद्धि प्राप्त गर्न गर्भदेखि नै लगानी गर्न आवश्यक रहेकामा जोड दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भविष्यमा मानवजातिलाई पृथ्वीमा जीवन्त बनाइराख्ने र प्रकृतिरहेसम्म जोगाइराख्ने भावी सन्तति भएकाले बालपुस्तालाई सही दिशानिर्देश गर्ने काममा लाग्न आम अभिभावक सचेत बन्न आग्रहसमेत गरे ।

उनले भने, ‘एउटा बालक राम्रो हुनुको अर्थ एउटा परिवार राम्रो हुनु हो, लाखौँलाख बालबालिका राम्रो हुनुको अर्थ सिङ्गो देश राम्रो हुनु भएकाले लगानी बालबालिकाको लागि गर्न आवश्यक छ ।’ मन्त्री बाँस्कोटाले उत्पादनमा आम नागरिकलाई लाग्न आग्रह गर्दै कृषि उत्पादन, पर्यटन, पूर्वाधार र ऊर्जालगायतका क्षेत्रमा व्यापक काम गरिरहेको बताए ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याएकी छिन् । स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताइन् । ‘त्यसको शुरुआत स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ । सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिवद्धता हो’, मन्त्री अर्यालले भनिन् ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उनले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताइन् । शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उनको भनाई थियो । उनले भनिन्, ‘ विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुदैन । बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने सरकारको लक्ष्य हो ।’

प्रतिक्रिया