आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा महासचिव विष्णु पौडेलका छोरा र सर्वोच्चका न्यायाधीश रेग्मीले गरे बालुवाटारको जग्गा फिर्ता

प्रकाशित
1.8K
SHARES

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता दिने भएपछि उनीहरूलाई भ्रष्टाचार मुद्दाको प्रतिवादी नबनाउने निर्णय गरेको छ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने प्रकरणमा जोडिएका पूर्वमन्त्रीदेखि व्यापारीसम्म गरी एक सय ७५ लाई अख्तियारले भ्रष्टाचारको आरोपमा बुधबार मुद्दा दर्ता गरेको छ। तर बालुवाटारमा रहेको जग्गा फिर्ता गर्ने बयान र निवेदन दिएकाले उनीहरूलाई भने अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको हो।

पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको छ। ‘उनीहरूले अनुसन्धान अधिकृत समक्ष गरेको बयान आयोगसमक्ष दिएको निवेदनमा ललितानिवास क्याम्पभित्र आफ्नो नाममा रहेका जग्गाहरू नेपाल सरकारलाई दिन मञ्जुर गरेकाले प्रतिवादी बनाउन आवश्यक नदेखिएको,’ अख्तियारको अभियोगपत्रमा भनिएको छ।

रेग्मीले आफू अधिवक्ता हुँदा बालुवाटारको उक्त जग्गा वकालत गरेवापत लिएको बताइएको छ। कानुनबमोजिम मालपोत कार्यालयबाट जग्गा खरिद गरेको बताउँदै उनले विज्ञप्तिमा भनेका छन्, ‘समाचारहरूमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका कुनै सदस्यको संलग्नता नरहेको बेहोरा सबैलाई जानकारी गराउँछु … यस प्रकारका समाचारबाट भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध गर्दछु।’

सेतोपाटीसँगको कुराकानीमा पौडेलले उक्त जग्गा बालुवाटारमा रहेको स्वीकार गरेका छन्। आफ्नो परिवारले उमा ढकालबाट जग्गा किनेको उनले बताएका छन्। को हुन् उमा ढकाल? सरकारी जग्गा कसरी ढकालका नाममा नामसारी भयो? त्यसपछि पौडेलका छोरा नवीन पौडेलका नाममा कसरी पुग्यो? यो सारा प्रकरणमा विष्णु पौडेल कति संलग्न छन्?

यो श्रृंखला २०१७ सालबाट सुरू हुन्छ। २०१७ सालमा राजा महेन्द्रले सैनिक ‘कू’ मार्फत् सत्ता हातमा लिए। कांग्रेसका नेताहरू जेल परे। कति निर्वासनमा गए। तिनै नेतामध्ये एक थिए, सुवर्णशमसेर राणा। राणा परिवारका सुवर्णशमसेरसँग धेरै सम्पति थियो। राणाविरूद्ध आन्दोलन र कांग्रेस पार्टी सञ्चालनमा उनले धेरै पैसा सके। राजा महेन्द्रले ‘कू’ गर्दा पनि उनी र उनको परिवारका नाममा काठमाडौंमा २९९ रोपनी जग्गा थियो।

यसमध्ये सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेर राणाको नाममा रहेको १४ रोपनी जग्गा राज्यविरोधी काम गरेको आरोपमा पञ्चायतले जफत गर्यो। उनको परिवारकै नाममा रहेको २८५ रोपनी जग्गा भने २०२१ सालमा सरकारले मुआब्जा दिएर अधिग्रहण गर्यो। सुवर्णशमसेरका परिवारको यही २८५ रोपनी जग्गामध्ये १७२ रोपनीमा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास, सभामुख निवास र नेपाल राष्ट्र बैंकको कार्यालय छ।

बाँकी ११३ रोपनीमध्ये धेरै जग्गा भू-माफियाहरूले कानुनको ठाडो उल्लंघन गरी मालपोतका कर्मचारीलाई मिलाएर आफ्ना नाममा नामसारी गरेका छन्। यही ११३ रोपनीमध्ये ८ आना जग्गा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलका नाममा पुगेको हो। सरकारी जग्गा भू-माफियाहरूले आफ्नो नाममा पुर्याउन कसरी सम्भव भयो?

प्रतिक्रिया