काठमाडौं । अफ्रिकी देश मालवीको संवैधानिक अदालतले गएको वर्ष भएको विवादास्पद चुनावलाई रद्द गरेको छ । गएको वर्ष भएको चुनावमा राष्ट्रपति पिटर मुथारिका कम मतान्तरले विजयी भएका थिए । गएको मे २१ मा भएको चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको न्यायाधीशले बताएका छन्।
मालवी सन् १९६४ मा स्वतन्त्र भएयता कानूनी रुपमा चुनाव रद्द भएको यो पहिलो पटक हो । नयाँ राष्ट्रपति चुनाव अबको १५१ दिनभित्र हुनेछ । गएका मे मा भएको चुनाव यता लगातार सरकार विरोधी प्रदर्शन हुँदै आएको थियो । नयाँ चुनाव नभएसम्म राष्ट्रपति मुथारिका सत्तामा रहने अदालतले उल्लेख गरेको छ।
मे मा भएको चुनावमा पिटर मुथारिकाले ३८.६ प्रतिशत मत प्राप्त गरी झिनो मतान्तरले दोस्रो कार्यकालका लागि विजयी भएका थिए । तर दोस्रो स्थानमा आएका लाजारुस चाक्वेरा र तेस्रो स्थानमा आएका साउलोस चिलिमा चुनावको नतिजा विरुद्ध अदालत गएका थिए ।
संवैधानिक अदालतले सोमबार दिएको फैसलामा उजुरीकर्ताको आरोप अनुसार चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको बताएको छ । यसैबीच आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ ।
डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन । रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेद्वार बन्ने छन । सामान्यताः अमेरिकामा एक जना राष्ट्रपतिलाई दुई कार्यकाल दिने प्रचलन रहेकाले रिपब्लिकले अर्को उम्मेद्वार तय गर्ने छैनन ।
तर डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन् । डेमोक्र्याटिकका तर्फबाट उम्मेद्वार तय गर्न सोमबार आयोवा ककसमा मतदान हुँदैछ ।
केही समयदेखि डेमोक्र्याटिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए । उम्मेदवार चयनका लागि हुने प्रारम्भिक मतदान आउँदो जुनसम्म जारी रहनेछ ।
प्रतिक्रिया