आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नवनिर्वाचित सभामुख सापकोटाविरुद्धको रिटको सुनुवाइ आज, सपथ पनि आजै

प्रकाशित
1.7K
SHARES

काठमाडौं । अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन माथिको सुनुवाइको लागि आज पेसी तोकिएको छ । सापकोटा भने हिजो बसेको प्रतिनिधि सभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतवार(हिजो) पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिनिधिसभाले हिजो नै सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने आज सोमबारका लागि तय भएको हो ।

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ पनि आज हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हो।

सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध निर्वा्चित भएका थिए। एकल उम्मेदवारी रहेको सापकोटालाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुख चयन गरेको हो। नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनेछन् ।

को हुन् सापकोटा ?
२०१४ फागुन २४ गते सिन्धुपाल्चोकको कुभिन्डेमा जन्मिएका सापकोटा १५ बर्षको अध्यापन पेशा छाडेर राजनीतिमा होमिएका थिए । ०२९ सालमा विद्यार्थी संगठनमा आवद्व भएका सापकोटा ०३५ सालमा नेकपा (चौम) को सदस्य भएका थिए । ०३६ सालको जनमतसंग्रहको घोषणापछि शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष र महासचिव भए । शिक्षक संघर्षमा ०४२ सालमा करिब चार महिना जेल बसेका थिए ।

०४८ मा शिक्षक पेशाबाट राजीनामा दिई राजनीतिमा सक्रिय भएका सापकोटा ०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । ०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य र ०५१ असोजमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका सापकोटा ०५२ माघदेखि भूमिगत भए । ०५२ फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा पूर्वी उपक्षेत्रीय ब्यूरो इन्चार्ज, ०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्ब्युरो सदस्यमा निर्वाचित भएका थिए ।

०५८ मा सरकारसँग वार्ता गर्न गठीत ३ सदस्यीय वार्ता टोलीको सदस्यका रुपमा उनी वार्तामा सहभागि थिए । ०६२ चैत १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले गरेको हमलामा ३ वटा गोली लागेर उनी गम्भीर घाइतेका थिए ।

२०६९ माघमा भएको तत्कालीन एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित भए । ०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता भए । त्यसपछि ०७१ मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्यमा निर्वाचित भएका सापकोटा ०७३ मा नेकपा माओवादी केन्द्रको कार्यालय सदस्यका रुपमा थिए ।

उनी अहिले नेकपाको स्थायी समिति सदस्य छन् । लगातार तीनपटक सांसद निर्वाचित सापकोटा दुईपटक मन्त्री भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सापकोटा ०६८ वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री भए ।

दोस्रो संविधानसभामा पनि सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी ०७३ मा वन तथा भू–संरक्षण मन्त्री भए । ०७४ को प्रतिनिधिसभा सदस्यमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सापकोटा अहिले त्यही संसदलाई नेतृत्व गर्ने भूमिकामा छन् । र, प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएसँगै संसदमा सुरु भएको छ ‘अग्नी परिक्षा’ ।

प्रतिक्रिया