आज : गते

ताजा शिर्षकहरु

अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

प्रकाशित
0.9K
SHARES

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतवार बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दावी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटाको नाम सभामुखमा प्रस्ताव गर्दै उनले आफूहरुको चयन उपयुक्त भएको देखिइसकेको बताए ।

‘हाम्रो चयन उपयुक्त रहेछ भन्ने निश्कर्ष आइसकेको छ, यो संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएको छैन’ उनले भने । सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक रहेकाले सभामुखका लागि उनी उपयुक्त रहेको नेम्वाङले बताए ।

‘लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ, आफ्नो यो भन्दा अगाडिको जीवनकालमा राम्रो मेहनती शिक्षकको रुपमा क्रियाशील रहनुभएको हो । यी सबै पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छु’ उनले भने ।

सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा सांसद देवप्रसाद गुरुङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

को हुन् सापकोटा ?
२०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् । सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।

०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् । ०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए ।

प्रतिक्रिया