आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भाजपा राजनीतिको तरंगमा बलिउड

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याएपछि भारतीय राजनीतिमा ठूलो परिवर्तन आयो । यसको प्रभाव भने बलिउडसम्मै देखियो । जसरी राजनीतिमा हिन्दुवादी गंगा बगेको देखियो बलिउडले पनि यसमा आफ्नो डुंगा खियाउन निस्किइहाल्यो ।

यस्तै एउटा डुंगामा सवार भएर अजय देवगन अहिले निस्किएका छन्, सत्रौं शताब्दीका एक मराठा योद्धा तानाजी मालुसरेले आफ्ना सम्राट छत्रपति शिवाजीको वफादारीमा प्रदर्शन गरेको वीरताको गाथामा फिल्म लिएर।

यसैसँग दीपिका पादुकोणले निर्माण र मूख्य भूमिकामा अभिनय गरेको ‘छपाक’ पनि प्रदर्शन भइरहेको छ। छपाकले बलिउडलाई मात्र नभएर भारतीय राजनीतिलाई नै तरंगित बनाइदिएको छ। यो पनि वास्तविक पात्रको कथामा नै बनेको फिल्म हो। र, यसको मुख्यपात्र पनि एक योद्धा नै हुन्, एसिड आक्रमणमा परेर बाँचेकी लक्ष्मी अग्रवाल। फरक के छ भने तानाजीले हिन्दु साम्राज्य बचाउनका लागि मुगलसँग लडेका थिए। लक्ष्मीले यो समाज र समाजले हुर्काएका दानवहरुसँग।

यी दुई फिल्मको अहिलेको भारतको राजनीतिसँग के सरोकार छ भन्ने विषयमा म अन्तिममा आउनेछु। सुरुमा यी दुई फिल्मकै चर्चा गरौं। पछिल्ला वर्षहरुमा आएका ‘पद्मावत’, ‘केसरी’, ‘पानीपत’, ‘बाजीराव मस्तानी’जस्ता इतिहासका पात्र र घटनाकै वरपर घुम्ने फिल्म हो ‘तानाजी’। यी सबै फिल्ममा समानता के छ भने यिनले प्राय: इस्लाम धर्म मान्नेहरु जो भारतमा आए ती घुसपैठी, अनैतिक र लुटेरा थिए भन्ने देखाउँछन्। उनीहरुसँग कतै मराठाले त कतै शिखहरुले भारतलाई जोगाए भन्ने सन्देश प्रवाहित गर्छन्।

आशुतोष गोवारिकरको फिल्म ‘जोधा अकबर’चाहिँ यसमा अपवाद थियो। जबकि भारतको प्राचीन इतिहास खासगरी दिल्लीको इतिहासलाई हेर्ने हो भने मुगलको भूमिका लुटेराको नभइ भारतलाई एक विशाल साम्राज्य बनाउन लागिपरेको समूहको देखिन्छ। मुगलहरुले अन्य कालका घुसपैठीहरुले जसरी भारतबाट सम्पति लुटेर बाहिर लगेको पनि बताइँदैन।

तर, यो इतिहासमात्रै भनेर त फिल्म बन्दैन। बने पनि त्यसमा ड्रामा पुग्दैन। मेलोड्रामा निर्माण गर्नका लागि चाहिन्छ खलनायक। इतिहासका हिरोहरु खोज्ने हो भने तीसँगै भिलेन पनि खोज्नु वा खडा गर्नुपर्ने हुन्छ। सुरुमै भने जस्तै जब हिन्दुवादी हावा चलेको छ भने त्यसमा सुकेका पातझैं उड्ने त मुसलमान पात्रहरु नै हुन्।

मराठा सम्राट छत्रपति शिवाजीका विश्वासपात्र सुवेदार। मराठा साम्राज्य जोगाउनका लागि ज्यान दिन पनि पछि नपर्नु भनेर बच्चैदेखि आफ्नो बाबुबाट दीक्षा पाएको लडाकु। अत्यन्त वीर, धीर र संयम। इतिहासले हिरो मान्नका लागि सबै गुणले नीपूण। राजाको खास भएर पनि दरबारमा नबसी गाउँमा बस्ने। आफ्नो खेतमा आफैं हलो जोत्ने मेहनती किसान। श्रीमतीलाई माया गर्ने पारिवारिक पनि।

अर्कातिर छन् दिल्लीका मुगल सम्राट औरंगजेब। मराठा साम्राज्यलाई कमजोर बनाएर पूरै हिन्दुस्तानलाई अधिनस्थ गर्ने सपना पालेर बसेका। उनको यो सपनाको बाटोमा तगारो बनेर उभिएका छन् उही छत्रपति शिवाजी। उनी यो तगारो पन्छाउन चाहन्छन्। यसका लागि उनको विश्वासपात्र अंगरक्षक उदयभान राठौर (जो राजपुत हिन्दु हो) लाई उनी अघि सार्छन्।

मुगलले आक्रमण गर्न लागेको थाहा पाउनासाथ तानाजी छोराको बिहे थाँती राखेर लड्न निस्किन्छन्। फिल्मको क्लाइमेक्स उदयभान र तानाजीले कोंढाणा नामक किल्लामा लडेको लडाइ हो।कोंढाणा जसलाई सिनागढ पनि भनिन्छ, यो किल्लामा भएको दुई फौजको घमासाना युद्ध नै तानाजीको कथाको केन्द्र हो र फिल्मको विशेषता पनि।

प्रतिक्रिया