आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज पृथ्वी जयन्ती, यी ठाउँमा छ सार्वजनिक विदा

प्रकाशित
1.4K
SHARES

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ । स्थानीय तहले भने देशका धेरै ठाउँमा सार्वजनिक विदा दिएक छन् ।

यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।

झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएका हुन् ।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो । “सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो ।”

त्यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए । यता गोरखाका चार स्थानीय तहले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिएका छन्।

पृथ्वी जयन्तीमा गोरखाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन्।

आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारका तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिए। उता गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

माघी पर्वको अवसरमा सरकारले बिदाको घोषणा गरेको हो। किराँतहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउँछन् भने थारु र मगर समुदायले माघी पर्वको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै आएका छन्। सरकारले अघिल्लो वर्ष पनि यो प्रदेशमा माघे संक्रान्तिको बिदा दिएको थियो। सरकारको तर्फबाट गरिने कार्यक्रम भने घोषणा भएको छैन।

राप्रपा कास्कीले पृथ्वी जयन्तीको दिन पुस २७ गते बिदा दिन आग्रह गरेको थियो। तर, गण्डकी सरकारले त्यसबारे कुनै निर्णय गरेको छैन। गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीको बिदासहित विभिन्‍न कार्यक्रम घोषणा गरिसकेको छ।

प्रतिक्रिया