आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रदेश तीनको राजधानी र नामबारे निर्णय भएन, भोलि मतदान हुने

प्रकाशित
871
SHARES

हेटौंडा । प्रदेश नम्बर–३ को प्रदेश सभाले आजपनि प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन सकेन । शनिवार (आज) बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफलपछि बैठक स्थगित भएको हो । बैठक आइतवार विहान ९ बजेका लागि बोलाइएको छ । आइतवारको बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा मतदान हुनेछ ।

प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो भएको प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल भएपनि निर्णय भने भोलिमात्र हुनेछ ।

हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने उक्त प्रस्तावलाई समर्थन गर्नेहरुमा प्रतिपक्ष दलका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ छन् ।

यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहेका छन् भने समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य छन् । प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् ।

यता नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेका हुन् ।

सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने ।’

सभामुख कसलाई बनाउने भन्नेबारे भने तय भइ नसकेको उनको भनाइ छ । नेकपामा सभामुख कसलाई बनाउने भन्ने विषयमा भने सहमति भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया