आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

प्रकाशित
1K
SHARES

काठमाडौं ।सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेका हुन् ।

सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने ।’

सभामुख कसलाई बनाउने भन्नेबारे भने तय भइ नसकेको उनको भनाइ छ । नेकपामा सभामुख कसलाई बनाउने भन्ने विषयमा भने सहमति भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने अडान राख्दै आएका छन् ।

यता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी छिन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखलाई राजनीनामा गर्न लगाउने निर्णय भएको बताएका थिए । निर्णय सार्वजनिक भएसँगै उपसभामुख तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी हुन् । ‘मैले किन दिने राजीनामा ?’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्,‘सभामुखका लागि म योग्य छु ।’

नेकपाको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराएर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको भएपनि कसलाई सभामुख बनाउने भन्ने निर्णय भने नगरेको प्रवक्ता श्रेष्ठले बताए । सभामुख उम्मेदवार को हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यो आउँछ नि ! पहिला उपसभामुखको राजीनामा आउनुपर्‍यो।’

सत्तारुढ दल नेकपामा सभामुखको विषयमा त्रिपक्षीय शक्ति संघर्ष देखिएको छ । नेकपाका एक जना सचिवालय सदस्यका अनुसार तीन पक्षको आ–आफ्नो दाबी र व्यक्ति भएका कारण समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया