आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मौसमबिधकाे पूर्वानुमानः हिउँदे झरी लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै

प्रकाशित
3.1K
SHARES

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीबार पनि देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।यसैगरी, बिहीबार राति पनि पश्चिमका केही स्थान, मध्य र पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने मध्य, पूर्वी उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ । नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो खालको न्यून चापीय प्रणालीले नेपालमा पनि असर गरेको मौसमविद् सुवास रिमालले बताए। मौसम बदलीसँगै आज काठमाडौं उपत्यकामा चिसो महसुस गरिएको छ।

मौसमी प्रणालीको बदलीले तापक्रममा केही कमी आउने हुँदा काठमाडौं उपत्यकासहितका क्षेत्रमा चिसो बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। ‘भारतको उत्तराखण्ड र जम्मु कास्मिरको हिमाली क्षेत्रमा हिमपात भएकाले सो क्षेत्रबाट बहेर आउने वायुका कारण तुलनात्मक रुपमा अबको तीन दिनसम्म चिसो बढ्ने देखिन्छ,’ मौसमविद् रिमालले भने।

उनका अनुसार न्यून चापीय प्रणालीको प्रभाव अझै एक/दुई दिन रहनेछ । बंगालको खाडीबाट आएको प्रणालीले देशका पूर्व र मध्य तथा पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमी क्षेत्रमा बढी असर पारेको छ । यसको असर बुधबारदेखि असर देखिएको हो। मौसमी प्रणालीको प्रभावले पूर्व र मध्यका एक/दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षाका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको तापमान न्यूनतम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस मापन भएको छ । सबैभन्दा कम जुम्लामा एक र सबैभन्दा बढी सिमरामा ३१ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया