आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

व्यापार घाटामा सुधार- निर्यात २७ प्रतिशतले बढ्यो, आयात साढे ४ प्रतिशतले घट्याे

प्रकाशित
1.2K
SHARES

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ ।साउनदेखि मङ्सिरसम्मको निर्यात बढ्दै जाँदा आयातमा पनि केहीले कमी आएकाे छ । पाँच महिनामा नेपालको कुल वस्तु निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ भने आयातमा ४ दशलमव २४ प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ । यो गएको वर्षको पाँच महिनाको तुलनामा ४ दशमलव २४ प्रतिशतले कमी हो ।

गएको आर्थिक वर्षको सुरुको पाँच महिनामा ६ खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएको थियो ।यस्तै पाँच महिनामा निर्यात २६ दशलमव ९७ प्रतिशतले बढेको छ  चार महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँको सामान निर्यात भएको छ । अघिल्लाे आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले जम्मा ३७ अर्ब रुपैयाँ बराबरको सामान मात्रै निर्यात गरेको थियो ।

पाँच महिनामा नेपालको व्यापार घाटा अघिल्लाे वर्षकाे पाँच महिनाको तुलनामा ६ दशमलव ३० प्रतिशतले घटेको छ । नेपालको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । आयात निर्यातको अनुपात २४ दशलमव ५८ प्रतिशत रहेको छ ।नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ ।

भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ । भारतसँगको व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।यस्तै पाँच महिनामा चीनबाट १ खर्ब २ अर्ब रुपैयाँको सामान आएकोमा जम्मा ८६ करोड ३२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ

यसैबीच पछिल्लो समय भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चिनियाँ प्याजले नेपाली बजार ढाकेको छ। मंसिर महिनामा मात्रै चीनबाट १० लाख १४ हजार किलो प्याज भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिएको छ।

गत असोजमा भारतले औपचारिकरूपमा प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चिनियाँ प्याजको आयात बढेको हो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउनुअघि चीनबाट औषतमा १० हजार किलो मात्रै प्याज भित्रिन्थ्यो। गत भदौमा नेपालमा ८ हजार किलो चिनियाँ प्याज आयात भएको थियो। असोजसम्ममा त्यो दर बढेर ४१ हजार किलो पुग्यो भने कात्तिकसम्ममा ५१ हजार किलो चिनियाँ प्याज आयात भयो।

प्रतिबन्ध लगाए पनि मंसिरमा भारतबाट १० हजार किलो प्याज आयात भएको छ। असोजमा भने २० हजार किलो प्याज आयात भएको थियो। त्यसअघि भने नेपाली प्याजको बजार भारतमै निर्भर थियो। नेपाली बजारमा पाइने प्याजमा ९० प्रतिशत हिस्सा भारतीय प्याजको रहेको जानकारहरू बताउँछन्।

प्रतिक्रिया