आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनले प्रभावित हुने सडक

प्रकाशित
1.4K
SHARES

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।

करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकाय सँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो । पर्यटकलाई विशेष अनुभव गराउन ‘लाइफटाइम एक्सपेरियन्स’को मुख्य नारासहित भ्रमण वर्ष केन्द्रित विशेष लोगोमार्फत यस बीचमा नियमित प्रवद्र्धनका कार्यक्रम आयोजना भइसकेका छन् ।

सरकारले काठमाडौँसहित सातै प्रदेशमा एकैपटक औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरेको छ । दशरथ रङ्गशालामा बेलुका ४ बजेदेखि शुरु हुने उद्घाटन कार्यक्रम राति पौने ८ बजेसम्म जारी रहनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेसँगै यसको सुरुवात त्यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमण वर्षलाई सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भएकाले पनि यसको तामझाम धेरै छ । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन आज काठमाडौंको दशरथ रङ्गशालामा हुनेछ । राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा हुने कार्यक्रममा सहभागी हुन विभिन्न देशमा पर्यटनमन्त्री पनि नेपाल आएकाले कार्यक्रम अवधिभर काठमाडौंका विभिन्न सडक प्रभावित हुने भएका छन् ।

यो अवस्थामा बैकल्पिक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । दिउँसोको समयमा ठमेलबाट र्‍यालि निस्केर रंगशाला सम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको छ ।

त्यस्तै कार्यक्रममा आउने सम्पुर्ण सर्वसाधरणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको प्रहरीले जनाएको छ । ट्राफिक सम्बन्धि समस्या तथा अन्य जानकारी लिन परेमा ट्राफिक प्रहरीको हट लाईन नम्बर १०३ मा फोन गर्न र नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनेर पनि जानकारी लिन पनि ट्राफिकले अनुरोध गरेको छ ।

अपराह्न ४ बजेदेखि शुरु हुने उद्घाटन समारोहको औपचारिक कार्यक्रम ५ घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

प्रतिक्रिया