आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चार देशका पर्यटन मन्त्री काठमाडौंमा

प्रकाशित
1.2K
SHARES

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न चार देशका पर्यटन मन्त्रीहरु काठमाडौं आइपुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन चीनका पर्यटन मन्त्री वाङ सियोफिङ, भारतका प्रल्हादसिंह पटेल, जमैकाका एडमण्ड बार्टलेट, र म्यानमारका यू ओन मौग काठमाडौँ आएका हुन्।

नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात पुस १६ गते बुधबार नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने कार्यक्रम छ । भ्रमण वर्ष सचिवालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्नेछिन् भने त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण वर्षको उद्घाटन भव्यरुपमा गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ । सरकारी दावीअनुसार भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी पनि पूरा गरिसकेको छ । भ्रमण वर्षसँगै २०२० देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने तयारीमा जुटेको नेपाल सरकारले पर्यटकलाई आकर्षित गर्न कत्तिको सक्ला ? समग्र बहसको विषय बनेको छ ।

भ्रमण वर्षलाई मध्यनजर गरेर सरकारले विमान थप्ने योजना बनाएको छ । केही नयाँ एयरलाइन्सहरुले अहिले दिल्ली–काठमाडौं, काठमाडौं दिल्ली उडान थपेका छन् । एयर एसियालाई पनि उडान अगाडि बढाउन सरकारले आग्रह गरेको छ । भारतको स्टार एयर, गो एयर पाइप लाइनमा छन् । त्यसैगरी फिनल्याण्डबाट फिनिस एयर, श्रीलंकाबाट श्रीलंकन एयरलाइन्सले नेपाल आउन रुचि देखाएको प्राधिकरणले जनाएको छ ।

नेपाल वायु सेवा निगम पनि बाह्य तथा आन्तरिक उडान थप्ने क्रममा छ । चीनका विभिन्न सहरमा पनि उडान थपिएका छन् । नेपालको हिमालयन एयरलाइन्सले चीनको बेइजिङलगायतका विभिन्न सहरमा उडान सुरु गरेको छ । हिमालयन एयरले अझै तीन वटा जहाज थपेर उडान बढाउने योजना अगाडि सारेको छ । त्यसैगरी, बुद्ध एयरले पनि भारतका विभिन्न सहरमा उडान भरिरहेको छ ।

रकारले नेपाल भ्रमण २०२० सुरु हुने पूर्वसन्ध्यामा स्वयम्भुमा दिपावली गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको आयोजनामा मंगलबार साँझ स्वयम्भूमा दिपावली गरेको हो । उता ललितपुर जिल्लाले वर्षभरि सम्पदा र कृषि अवलोकन, खाद्य उत्सव, कला प्रदर्शनी आदि गरी नेपाल भ्रमण वर्ष–२०२० मनाउने भएको छ ।

महानगरपालिकाले भ्रमण वर्षका अवसरमा पाटनमा सांस्कृतिक कार्यक्रम गर्ने र एकहप्ताभित्र साँझमा पाटन घुम्न आउने पर्यटकलाई ध्यानमा राखी ‘काठमाडौं भ्याली बाइनाइट’ नामक कार्यक्रम गर्ने छ । ललितपुर महानगरपालिकाले भ्रमणकै अवसरमा आज मङ्गलबार र बुधबार साँझ महानगरका सबै वडामा दीपावली गर्ने भएको भ्रमण वर्ष सञ्चालन तथा सहजीकरण संयोजक दिलेन्द्रराज श्रेष्ठले जानकारी दिए । “भोलि(मङ्गलबार) बिहा ९ बजे पाटन आउने पहिलो पर्यटकलाई महानगरपालिकाका पदाधिकारी मिलेर स्वागत गर्ने तयारी भएको छ ’’, उनले भने ।

उनका अनुसार ललितपुरका करीब २० देखि २२ विहार पर्यटकलाई अवलोकन गराइने छ । धातुकला, मूर्तिकला र काष्ठकलाबारेमा पर्यटकलाई जानकारी गराउन दुईदेखि तीन विज्ञ तयार गरिएको छ । महानगरपालिकाको शहरी क्षेत्रभित्रका सम्पूर्ण जानकारी पर्यटकलाई उपलब्ध गराउन सो क्षेत्रको ओकुबहाल र भीमसेनबहाल क्षेत्रमा पाँच दिनको महोत्सव गरिने छ ।

नेपालका लागि विदेशी राजदूत र अन्तरराष्ट्रिय सङ्घसंस्थामा कार्यरत प्रमुखलाई कम्तीमा दुई पटक पाटन भ्रमण गराइने, काठमाडौँ उपत्यकामा दैनिक बढ्दै गएको ट्राफिक जामलाई ध्यानमा राखी पाटन क्षेत्रका सडकमा एकतर्फी यातायात सञ्चालन गराइने, ललितपुर भित्रने पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखी आठ मानिस अट्ने छ विद्युतीय यातायात खरिद गर्ने प्रक्रिया रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया