आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गाउँपालिका अध्यक्ष ‘जम्बो’ टोली लिएर सिंगापुर-थाइल्याण्ड भ्रमणमा, यता काम काज ठप्प

प्रकाशित
1.5K
SHARES

काठमाडौँ। पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले वडाध्यक्षलगायत १५ जना ‘जम्बो’ टोली लिएर विदेश भ्रमणमा गएका छन् । उनीहरू थाइल्याण्ड, कम्बोडिया र सिंगापुर भ्रमणमा गएका हुन्। ती ठाउँ घुमेर उनीहरू पुस ११ गते नेपाल फर्कन्छन्। उनीहरू घुम्नका लागि विदेश गए पनि खर्चको जोहो गाउँपालिका र वडाबाट लिन्छन् कि लिँदैनन् भन्ने अहिले नै खुलेको छैन।

गाउँपालिका प्रमुख चौधरी, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादव, वडाध्यक्षहरु फरमान मियाँ, विजयश्री गैरे, माधव राउत थारु, राजेश्वर महतो थारु, मोतीलाल साह विदेश छन्। कार्यपालिका सदस्य विपिन मुखिया विन र दीपक रसैली, शिक्षा शाखाका शम्भु साह, सामाजिक विकास शाखाका राजकुमार महतो, राजश्व तथा योजना फाँटका विरेन्द्र चौधरी, लेखापाल विरेन्द्र साह तेली, इन्जिनियरहरु निर्मल सिंह र प्रदीप चौरसिया पनि उक्त टोलीमा छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक पत्राचार गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई विदेश भ्रमणमा कडाइ गरिराखेको छ। विदेश भ्रमणमा जाँदा सम्बन्धित स्थानीय तहले खर्च गर्ने हो भने पहिले नै मन्त्रालयमा जानकारी पठाउनुपर्ने हुन्छ। जथाभावी जनप्रतिनिधि भ्रमणमा जाँदा सेवाग्राहीका कामकाजदेखि विकास निर्माणमा पनि प्रभाव परेपछि सरकारले कडाइ गरे पनि घुम्नकै लागि विदेश जाने प्रवृत्ति घटेको छैन।

यस्तै उता हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका हुन् । चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेपछि नागरिकता बनाउन जाने सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भान्सार कार्यालय, सिँचाइ सवडिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, भेटेनरी तथा पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय लगायतमा कार्यालय प्रमुख नरहेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल जानकारी दिए । सरकारी कार्यालयमा कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा काम सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया