आज : गते

ताजा शिर्षकहरु

जनमुक्ति सेनाको गिरफ्तारीमा परेका गाउँपालिकाका अध्यक्ष शाहीले दिए यस्तो अनौठो बयान

प्रकाशित
1K
SHARES

काठमाडौं । शनिबार राति जनमुक्ति सेनाको गिरफ्तारीमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफूलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा करिब २० देखि ३० पटक फायरिङ भएको आफूले सुनेको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित शाहीलाई बिद्रोही जनमुक्ति सेनाले करिब १७/ १८ घण्टा नियन्त्रणमा लिएर सकुशल छाडेको नेकपाले दावी गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका अनुसार प्रहरी र आफूलाई नियन्त्रणमा लिने मानिसको जम्काभेट भएको थियो । सोहि क्रममा प्रहरीले करिब २० देखि ३० राउण्ड फायरिङ गरेको बताइएको छ । ‘तपाईं हाम्रो बन्दी हो, हाम्रै सम्पर्कमा जानुपर्छ भनेर भन्नुभएको थियो, अँध्यारो भइसकेको थियो। हामी हिँडिरहेका थियौं। सुरक्षाकर्मीसँग जम्काभेट भयो,’ अध्यक्ष शाहीले भने ।

शनिबार राति करिब साढे १२ बजेतिर ठाँटीकाध गाउँपालिका-२ सिरुपाटामा रहेको शाहीको घरमा केही मान्छे आए। ढोका खोल्न भनेपछि शाहीले नै ढोका खोले र आएका ती मानिसहरूले सोधपुछ गर्नुछ भनेर अध्यक्ष शाहीलाई बाहिर बोलाए।

‘मेरो म्याडमले ढोका खोल्न मानिनन्, मैले खोलौं न त को मान्छे हो भनेर भनें। ढोका नखोलेपछि उहाँहरू र मेरो म्याडमको भनाभन पनि भयो,’ शाहीले भने, ‘त्यसपछि मैले ढोका खोलें, तपाईंहरू को हो भन्दा ‘हामी विप्लवको कार्यकर्ता हो’ भन्नुभयो। त्यसपछि तपाईंसँग सोधपुछ गर्नुछ भनेर लिनुभयो।’

अध्यक्ष शाहीले जानकारी दिए अनुसार भने उनकी श्रीमतीलाई भने नेकपाले नियन्त्रणमा लिएको होइन। ‘मेरो म्याडमले म पनि सँगै जान्छु भनेर म सँग गइन्, मैले उहाँहरू राजनीतिक कार्यकर्ता हो। त्यही अनुसारको व्यवहार गर्नुहुन्छ, तिमी जाऊ भनेर भनेपछि म्याडम फर्किइन्,’ उनले भने।

उनीहरुको नियन्त्रणमा गएदेखि मुक्त हुने बेलासम्म लगातार आफूहरू हिँडेको शाहीले बताए। घरबाट लिएपछि उक्त समूहले उत्तरतिर पूरै हिउँ भएको बाटोमा लगेको उनले बताए। कतिपय कल्पनै गर्न नसकिने खालको अप्ठ्यारो बाटोमा समेत हिँडेको शाहीले बताए।

‘घरबाट जाँदाखेरी त एक घण्टासम्म हामी राम्रो बाटो हिँड्यौं, त्यसपछि भने दुई घण्टासम्म अनकन्टार भीरमा हिँड्यौं,’ अध्यक्ष शाहीले भने, ‘भीरमाम हिँड्न सकिनँ, आइतबार दिनभर पनि हिउँमा हिँड्यौं, त्यसपछि भने पूरै जंगलमा हिँड्यौं।’

शाहीले आफुलाई नियन्त्रणमा लिने विप्लव कार्यकर्ताले आफूसँग सभ्य व्यवहार गरेको बताए। त्यस समयमा उनीहरूले अपशब्द बोल्ने, गलत व्यवहार गर्ने काम नगरेको र आफूलाई उच्च सम्मान गरेको शाहीले बताएका छन्।

‘बाटोमा हिँड्ने क्रममा मैँले हिँड्न सक्दिनँ भनेपछि बसौं सर भन्नुभयो,’ उनले भने, ‘हिजो बिहान (आइतबार) एक ठाउँ खाना खाँदा उहाँहरूले पहिला मलाई नै खाना दिनुभयो, म बस्ने ठाउँमा पनि उनीहरूको एउटा गम्छा थियो। यसैमा सुत्नुस् तपाईं राति सुत्न पाउनुभएको छैन भन्नुभयो, त्यो व्यवहारचाहिँ राम्रो लाग्यो।’ उनीहरूको असल व्यवहारका कारण डर महसुस नभएको उनले बताए।

आफूलाई नियन्त्रणमा लिनुको कारण पक्राउ परेका नेकपा कार्यकर्ताको रिहाइ शाहीले रहेको शाहीले बताए। बाटोमा जाँदा आफूलाई नियन्त्रणमा लिनुको कारणबारे सोध्दा उनीहरूले ‘हाम्रा १२ सय जति कार्यकर्ता थुनिएका छन्, यी कार्यकर्ताहरू तपाईंहरूजस्ता राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले छोड्दैन यो राज्यलाई चुनौती हो’ भनेको अध्यक्ष शाहीले बताए।

विद्रोही नेपाल कम्युनिष्ट पार्टीले दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई गिरफ्तार गरेर सकुशल रिहा गरेको पुष्टि गरेको छ । पार्टीका भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले विज्ञप्ति जारी गरेर पार्टीमाथिको प्रतिबन्ध, दमन, हत्या र गिरफ्तारीको प्रतिरोधस्वरुप अध्यक्ष शाहीलाई गिरफ्तार गरिएको बताएका छन् ।

रवीले विज्ञप्तिमा अध्यक्ष शाहीले चरम भ्रष्टाचार गरेको, कमिसन खाएको, पार्टी विरोधी गतिविधि गरेकोले गिरफ्तार गरेको बताएका छन् । उनले जनमुक्ति सेनाको नेतृत्वमा शाहीलाई नियन्त्रणमा लिई आवश्यक छानविन गारी सकुशल रिहा गरिएको बताएका छन् ।

प्रतिक्रिया