आज : गते

ताजा शिर्षकहरु

काठमाडौँको सामाखुशीमा दुई बस एकआपसमा ठोक्किँए, २५ जना घाइते

प्रकाशित
1.4K
SHARES

काठमाडौं । काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् ।नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ एकआपसमा ठोक्किँदा २५ यात्रु घाइते भएका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्टले बस एकापसमा ठोक्किँदा बसभित्र रहेका २५ यात्रु घाइते भएको जानकारी दिए ।

घाइतेको सामाखुशीको अल नेपाल अस्पताल र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बस भक्तपुर चल्ने र महाराजगञ्जदेखि बसपार्क जाँदै गरेको बस चक्रपथ चल्दै आएका थिए । महाराजगञ्जबाट बसपार्क जाँदै गरेको बसका चालक भने गम्भीर घाइते रहेको प्रहरी निरीक्षक विष्टले बताए । घाइतेको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र दिनहुँजसो भइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थाल्न निर्देशन दिएका छन् ।मुख्यमन्त्री पौडेलले आज सरोकारवालाको विशेष बैठक बोलाएर सवारी दुर्घटनामा परी दिनहुँ मान्छे मारिँदा र घाइते भइरहँदा सरकार चुप लागेर बस्न नसक्ने भन्दै तत्काल रोकथामका उपाय अपनाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय समेतको तालमेलमा विशेष पहल गरिनुपर्ने बताए। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले प्रदेश ३ को राजधानी हेटौँडा र अन्य जिल्लामा बढिरहेको दुर्घटना कम गर्न विशेष कार्यदल गठन गरेर रायसुझाव लिइने बताए ।प्रदेश–३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरेको बताए ।

प्रतिक्रिया