आज : गते

ताजा शिर्षकहरु

देउवा र पौडेल पक्षबीच यसकारण चुलियो विवाद

प्रकाशित
1.8K
SHARES

काठमाडौं । पार्टी भित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाली कांग्रेस संस्थान र संस्थापन इतरको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ । सोमबार विहान १० बजेदेखि कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक विना कुनै निष्कर्ष टुंगिएको हो । समस्या समाधानको जिम्मा पाएका सभापति देउवा पक्षका नेतासमेत रहेका उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेता प्रकाशमान सिंह, दिलेन्द्र बडु र हृदयराम थानीको उपस्थितीमा बैठक भएको थियो ।

वार्ता कुनै निकासमा नपुगेका कारण आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि अन्योलमा परेको छ ।
रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा नआउँदासम्म बैठकमा बस्न नसकिने बताउँदै आएका छन् । बैठकमा सहभागी पौडेल पक्षका नेता हृदयराम थानीले वार्ता कुनै निष्कर्षमा नपुगेको र छलफलपछि उहाँहरु(देउवा पक्ष) ले खबर गर्ने बताएको जानकारी दिए ।

‘विहान बसेको बैठकमा कुनै ठोस निर्णय भएको छैन’ नेता थानीले भने,‘उहाँहरु आफ्ना कुराबाट टसकामस हुनुभएको छैन । हामीले हाम्रा कुरा राखेका छौं । सल्ला गरेर खरबर गर्छौं भन्नु भएको छ ।’ आजको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने वा नहुनेबारे कुनै निष्कर्ष नभएको उनले बताए । ‘उहाँहरुले खबर गर्छौ भन्नु भएको छ हेरौं सकारात्मक भयो भने हो’ उनले भने,‘मिलेर जानुपर्छ भन्नेमा हामी सबै सहमत छौं तर समस्या त समाधान हुनु पर्‍यो नि ।’

उपसभापति निधिले भने छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । पार्टी भित्रको असन्तुष्टि पार्टीकै बैठकमा बसेर समाधान गर्न आफूले आग्रह गरेको निधिको भनाइ छ । ‘पार्टी भित्रका समस्या समाधानका लागि पार्टीका बैठकहरुमा कुरा गर्नु पर्यो‍’ उपसभापति निधिले खबरहबसँग भने,‘उहाँहरुलाई पार्टीको बैठकमा आउनुस् चित्त बुझेन भने बैठकमा नबस्नुहोला भनेका छौं । उहाँहरुले सल्लाह गर्छौं भन्नु भएको छ ।’

उहाँहरु(पौडेल पक्षधर) नेताहरु बैठकमा आउने भए बैठक बेलुका वा जुनसुकै बेला पनि बस्न सकिने नेता निधिले बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यसूची समावेश गर्नुपर्ने प्रस्तावलाई प्राथमिकतामा राख्दै आएका छन् । तर देउवा भने भ्रातृ संस्था, विभाग लगायतको समस्या समाधान गरेपछि मात्र महाधिवेशनको विषयमा कुरा गर्ने पक्षमा रहेको छ ।

तर पौडेल पक्षले भने महाधिवेशनको मिति तय गर्नुपर्ने, केन्द्र देखि वडा सम्मको महाधिवेशनसँग सम्बन्धित तालिका तय गर्नु पर्ने माग राख्दै आएको छ । ,‘महाधिवेशनको तालिका तोक्नु पर्‍यो त्यस्तै वडा देखि केन्द्रसम्मको तालिका आउनु पर्यो‍ ’पौडेल पक्षका नेता थानीले भने, ‘विभाग र नेविसंघ र तरुण दल लगायतमा देखिएको समस्या समाधान हुनु पर्‍यो ।’

उपसभापति निधिका अनुसार पौडेल पक्षले प्रस्ताव गरेको र देउवा पक्षले भनेको महाधिवेशनको मितिमा भने तीन महिनाको मात्र फरक रहेको छ । ‘उहाँहरुले २०७७ सालको मंसिर पहिलो साता महाधिवेशन गरौं भन्ने प्रस्ताव राख्नु भएको छ’ नेता निधिले भने,‘यसबारे छलफल गर्न सकिन्छ तर, २०७७ को फागुन हामीले प्रस्ताव गरेका छौं ।’

प्रतिक्रिया