आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस विवाद उत्कर्षमा, कार्यतालिका ल्याउन किन आनाकानी ?

प्रकाशित
2K
SHARES

काठमाडौँ । कांग्रेसको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सहमत नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् । देउवा–पौडेलबीच शनिबार बिहान र दुवै पक्षबीचका वार्ता टोलीबीच अपराह्न भएको छलफलले निष्कर्ष निकाल्न नसकेपछि केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्ष उपस्थित नहुने निचोडमा पुगेको हो । कुलचन्द्र न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

सभापति देउवासँगको छलफलपछि पौडेल पक्षको छुट्टै बैठक महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको थियो । त्यही बैठकले महाधिवेशनको कार्यतालिका ल्याउन सभापति देउवा सहमत नभएसम्म बैठकमा सहभागी नहुने निर्णय लिएको हो । ‘संस्थापन पक्ष कार्यतालिका ल्याउन तयार देखिएन, त्यसैले भोलि (आइतबार) को बैठकमा पनि अनुपस्थित हुने निर्णय भएको छ,’ केन्द्रीय सदस्य रामकृष्ण यादवले कान्तिपुरसित भने ।

आन्तरिक र समसामयिक राजनीतिका ९ वटा एजेन्डा ल्याउँदा पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रस्टसँग नल्याइएको भन्दै पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो । बहिष्कार दोहोरिन नदिन सभापति देउवा पौडेलसँग छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई लिएर शनिबार बिहान बोहराटार पुगेका थिए । देउवाले निधिलाई साथमा ल्याएपछि पौडेलले पनि आफ्नो पक्षबाट केन्द्रीय सदस्य हृदयराम थानीलाई साक्षीका रूपमा राखेका थिए । त्यहाँ करिब एक घण्टा छलफल भयो ।

समकालीन दौंतरी रहेका देउवा र पौडेलले केहीछिन आपसी अविश्वास र सहयोग–असहयोगका अन्तर्कथा सुनाएका थिए । देउवाले आफूलाई पार्टी सभापति भएदेखि नै पौडेलबाट सहयोग नभएको गुनासो गरे । उनले यसपटक सहयोग गर्न पौडेललाई आग्रह गर्दै विभागको संख्या बढाउने, नेविसंघको तदर्थ समिति बनाउने र तरुण दलको कार्यसमितिको विस्तार एवं ६ महिनाको म्याद थप गर्ने कार्ययोजना सुनाएका थिए ।

पौडेलले आफूले पञ्चायतकालदेखि त्याग गरेको तर देउवाबाट आफूले कहिल्यै सहयोग नपाएको गुनासो पोखे । देउवाले प्रस्तुत गरेका कार्ययोजनालाई तपसिलका विषय भन्दै पौडेलले महाधिवेशनको कार्यतालिकाको विषयलाई मुख्य मुद्दा बनाए । उनले वडादेखि केन्द्रसम्मको अधिवेशनको कार्यतालिका नल्याएसम्म आफ्नो समूहले बैठकमा भाग नलिने जानकारी सभापति देउवालाई दिए ।

उपसभापति निधिका अनुसार सभापति देउवा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सकारात्मक छन् । समायोजन नसकिएका कारण मात्रै कार्यतालिका ल्याउन ढिलाइ भएको तर्क देउवाको छ । नयाँ राज्य संरचनाअनुसार पार्टीको संघ, प्रदेश निर्वाचन क्षेत्र, गाउँ/नगरपालिका र वडा तहसम्मको संरचनाको समायोजनसम्बन्धी काम राधेश्याम अधिकारीको संयोजकत्वको समितिले गर्दै आएको छ ।

प्रतिक्रिया