आज : गते

ताजा शिर्षकहरु

ओली-प्रचण्डले एकैदिन किन बोलाए सचिवालय र स्थायी समिति बैठक ? यस्तो छ कारण

प्रकाशित
1.1K
SHARES

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति र सचिवालय बैठक आज (आइतबार) बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो ।

यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो । आज बस्ने स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ६ महिने कार्ययोजना तथा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

त्यस्तै, बैठकले सचिवालयले गर्दै आएका संगठनात्मक निर्णयहरुलाई अनुमोदन गर्नेछ । बैठकले वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने गरी सचिवालयले गरेको निर्णयलाई पनि अनुमोदन गर्नेछ । स्थायी समिति बैठकमा सचिवालय विस्तारको विषयमा पनि छलफल हुने बताइएको छ । स्थायी समितिअघि सचिवालय बैठक बसेर स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ ।

यसैबीच उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकोमा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब’ला’त्का’रको आरोप लागेर सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण हुने महिला विभाग संयोजक हिराकुमारी लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“अर्कैले गरेको अपराध र एउटै पार्टी तथा लिङ्गका सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्थाको कारण डा तुम्बाहाम्फेलाई पद छोड्न बाध्य पारिनु राजिनामा नभई ‘जवरजस्तीनामा’ हो”, विज्ञप्तिमा भनिएको छ । उपसभामुखको कार्यसम्पादनको मुल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टी, महिला विभागको ठहर छ ।

प्रतिक्रिया