आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषद् बैठकका १७ निर्णय, हेर्नुहोस सूचिसहित

प्रकाशित
1.5K
SHARES

काठमाडौं। सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ९ गते गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते बिहीबारका दिन निर्वाचन गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर २३ गते) बसेको बैठकले सोसहित विभिन्न १७ ओटा निर्णयहरु गरेको छ ।

बैठकले सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग र सोका पदाधिकारीको म्याद ६ महिनाका लागि थप गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यस्तै, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा सन् २०३७–०३८ अवधिका लागि नेपालको उम्मेदवारी पेस गर्न र उम्मेदवारीमा समर्थन जुटाउन पहल सुरु गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा अनिल पोखरेललाई नियुक्त गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय मझगवा, रूपन्देहीबाट झुटो विवरण पेस गरी नागरिकता प्राप्त गरेका जमालुदिन धुनियाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाइएको छ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न परियोजनाका लागि विदेशी दातृनिकायहरुबाट प्राप्त हुने अनुदान तथा ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले बिहीबार सन्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

आगामी पुस ४ गते शुक्रबार बेलुका ४ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।  त्यस्तै बाग्मती नदी तटिय क्षेत्र सुधार आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ६३ मिलियन अमेरिकी डलर (करिव ७ अर्व १२ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने र पृथ्वी राजमार्गको मुग्लिङ्ग–पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत एशियाली विकास बैंकबाट सहायताका रूपमा प्रस्ताविक १९५ मिलियन अमेरिकी डलर (करिब २१ अर्व ४५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।

यस्तै युरोपेली लगानी बैंक (ई.आई.वी) बाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्राप्त हुने १०० मिलियन युरो (करिब १२ अर्व ५२ करोड रूपैयाँ) बराबरको ऋण प्राप्तिका लागि वार्ता गर्न वार्ता टोली गठन गर्ने, Rural Enterprise Financing Project का लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिब ५ अर्व ६५ करोड रूपैयाँ) बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया