आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंमा आज जोर नम्बरका सवारीमात्र चलाउन पाइने

प्रकाशित
1.6K
SHARES

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ । समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

महाशाखाले एक सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालवाहक सवारी साधन रिङ्रोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोधसमेत गरेको छ । महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नं १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ । सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ ।

खेल हेर्न आउने सबैका लागि पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्न भनिएको छ । यस्तै आज खेल हेर्न टिकट काटेका दर्शकलाई मूलगेट प्रवेश नगरी आर्मी अफिसर्स क्लबको गेटबाट प्रवेश गर्न आग्रह गरिएको छ । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । आजका सबै खेल काठमाडौंमा हुनेछ ।

कुन खेल कहाँ कहाँ हुनेछ ?
पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ बजे हुनेछ । यस्तै बास्केटबलको फाइनल खेल आज हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ : ३० बजे शुरु हुनेछ ।

महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ । त्यस्तै बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १ बजेदेखि शुरु हुनेछ । भने जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु बिहान ९ बजेदेखि शुरु हुनेछ । फाइनल खेल भने अपरान्ह १२ : ३५ मा शुरु हुनेछ ।

उता स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।

प्रतिक्रिया