आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड दिनभर हेलिकप्टरमा सरर, चुनावी सभालाई सम्बोधन गर्न पोखराबाट धरान र भक्तपुर उड्ने

प्रकाशित
2.7K
SHARES

काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूले चुनावी प्रचारलाई तीव्रता दिइरहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार तीन वटा चुनावी सभालाई सम्बोधन गर्दैछन्। प्रचण्डले कास्की २, धरान र भक्तपुरका चुनावी सभालाई बुधबार सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।

स्रोतका अनुसार प्रचण्डले तीन ठाउँमा चुनावी प्रचार गर्न दिनभरिजसो हेलिकप्टर प्रयोग गर्ने भएका छन्। एकै दिन देशका भिन्नाभिन्नै स्थानका सभालाई सम्बोधन गर्नुपर्ने भएका कारण उनले हेलिकप्टर प्रयोग गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।

अहिले पोखरामा रहेका प्रचण्ड केहीबेरमा हेलिकप्टरमा धरान उड्नेछन्। त्यसपछि उनी हेलिकप्टरबाटै काठमाडौं फर्केर भक्तपुरको चुनावी सभामा पुग्ने कार्यक्रम तय गरिएको छ ।

सत्तारुढ दलका नेताहरुले हेलिकप्टर चढेर प्रचार गरेको भन्ने आलोचना हुन थालेपछि चुनावी क्षेत्रमा भने प्रचण्डले हेलिकप्टर नलैजाने उनको सचिवालयले जनाएको छ। पोखरा जाँदा प्रचण्ड हेलिकप्टरबाट विमानस्थलसम्म गएका छन्। उनी इटहरीमा हेलिकप्टर राखेर गाडीमा धरान जानेछन्। त्यहाँबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थल आएर उनी गाडी चढेर भक्तपुर जाने कार्यक्रम तय गरिएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि आज पोखरामा चुनावी सभालाई सम्बोधन गर्न जाने तय भएको थियो। मंगलबार एक्कासी एपेन्डिसाइटिसको शल्यक्रिया गरेकाले प्रधानमन्त्रीको कार्यक्रम रद्द भएको छ। यस्तै प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धरानमा चुनावी सभा सकेर काठमाडौं फर्कंदै छन्। देउवाको सचिवालयका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौंका लागि उडेका देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाँदैछन्।

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई चुनावी प्रचारका कार्यक्रममा भाग लिन दाङमा छन्। राष्ट्रिय जनता पार्टी, राप्रपा, राप्रपा संयुक्त, साझा पार्टी, विवेकशील नेपाली दललगायतले पनि उम्मेदवारी दिएका ठाउँमा चुनावी प्रचारलाई तीब्रता दिएका छन्।

निर्वाचन आयोगले बुधबार राति १२ बजेसम्म मात्रै चुनावी प्रचार गर्न पाइने कार्यतालिका यसअघि नै जारी गरिसकेको छ। बिहीबारदेखि मौन अवधि सुरू हुनेछ। चुनावी प्रचारका कार्यक्रमहरू गर्न पाइने छैन। एक संघीय क्षेत्र, तीन प्रदेशसभा, धरान उपमहानगरलगायत रिक्त स्थानीय तहमा शनिबार मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

यस्तै उता पोखरामा सत्तारुढ नेकपाको चुनावीसभा नजिकै ब’म वि’स्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै ब’म वि’स्फोट भएको छ । वि’स्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ। प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ । मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन् ।

प्रतिक्रिया