आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

प्रकाशित
1.3K
SHARES

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार त्यसको भोलिपल्ट शपथ गराइएकाे हाे । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् । ८ मन्त्री भने बर्खास्तीमा परेका छन् । मन्त्री पद गुमाउनेहरूमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ ।

त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । यसैबीच निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै देश र जनताका लागि काम गरेको प्रतिक्रिया दिएका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै वैदेशिक रोजगारका क्रममा ठगिएका युवा, आन्तरिक रोजगारी, बेरोजगारी युवा र देशविदेशमा पसिना बगाउने युवाका लागि इमानदारीपूर्वक काम गरेको उनले प्रतिक्रिया दिएका हुन् ।

विष्टले सामाजिक सञ्जालमा भनेका छन्,’जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !”

प्रतिक्रिया