आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सन्दकपुर क्षेत्रमा अनेरास्ववियूले गाड्यो नेपालको झण्डा

प्रकाशित
1.8K
SHARES

सन्दकपुर । भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

यस्तै पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताए । उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पारे । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताए ।

नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने भन्दै मन्त्री ज्ञवालीले नेपालको पूर्वमा मेची र पश्चिममा महाकाली नदी नेपालको सिमाना रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको उल्लेख गरे । नेपालीमा फूलको मालाजस्तो राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उनले देशको राष्ट्रिय एकता चुँडाउन खोज्ने जो कोही देशद्रोही भएको बताए ।

मन्त्री ज्ञवालीले भने, ‘फूलको मालाका धागा काट्ने र फूल चुँडाउने प्रयास भइरहेको छ । त्यस्ता देशद्रोही प्रयास निस्तेज गर्न वर्तमान सरकार सक्षम छ ।’ कार्यक्रममा प्रा डा वेनीमाधव ढकालले नेपालमा गणतन्त्र आएपछि पाल्पा जिल्लामा पहिलोपटक महाकाव्य प्रकाशनमा आएको बताए। महाकाव्यमा राष्ट्रिय एकता, नेपाली कला, संस्कृति, भूगोल र पाल्पा आसपासलाई केन्द्रित रहेको समसामयिक महाकाव्य रहेको उनले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाका अध्यक्ष तथा प्रदेश सांसद नारायण आचार्यले साहित्यका माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन उल्लेखनीय भूमिका रहेको बताए । लेखक न्यौपानेले महाकाव्यमा नेपालीपनको झल्को दिने र राष्ट्रिय एकतालाई बलियो बनाउन महाकाव्य सफल हुने बताए। कार्यक्रममा भन्सार विभागका उपनिर्देशक मनमाया पङ्गेनी, वरिष्ठ पत्रकार मेघराज शर्मा, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुरबहादुर थापाले महाकाव्यले समसामयिक र राष्ट्रिय एकता बलियो बनाउन सहयोगी भूमिका खेल्ने बताए।

पूर्वखोला गाउँपालिकाको सहयोगमा प्रकाशित श्रम-साधना महाकाव्यको लोकापर्ण पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लेखक नीलकण्ठ न्यौपानेकी आमा गाथादेवी न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया