आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिलीमा नयाँ संविधान निर्माणका लागि जनमतसंग्रह हुने

प्रकाशित
1.2K
SHARES

सान्टियागो । चिलीमा नयाँ संविधान निर्माणका लागि जनमतसंग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत् राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमतसंग्रह गर्ने घोषणा गरेको हो ।

यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो । चिलीका पूर्वशासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमतसंग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका छन् ।

यहाँको संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकारहरु (जस्तोः शिक्षा, स्वास्थ्य)को व्यवस्था गर्न नसकेको भन्दै दशौं हजार नागरिकले प्रदर्शन जारी राखेका थिए । शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिहरुले वार्ता गरेका थिए । त्यस वार्ताकाक्रममा उनीहरुले यो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमतसंग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो ।

सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमतसंग्रह गर्ने विषयमा सहमति भएको जनाइएको छ । चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताएका छन् । उनले यस सहमतिबमोजिम चिलीमा नयाँ जनमतसंग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्काे संविधान तयार पार्ने भन्नेबारेमा निर्णय दिने बताए ।

यसका साथै आगामी संविधानमा नागरिकका के–कस्ता आधारभूत आवश्यकताका विषयहरु राख्ने भन्नेबारेमा पनि आगामी जनमतसंग्रहले निर्णय गर्ने भएकाले प्रदर्शनकारीहरुले आफ्ना विरोध प्रदर्शनहरुलाई शुक्रबारदेखि नै स्थगित गरेका छन् । सिन्ह्वा

प्रतिक्रिया