आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डा केसीको समर्थनमा टिचिङ अस्पतालका विद्यार्थी आन्दोलित

प्रकाशित
1K
SHARES

काठमाडौं । डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीको सत्याग्रहमा समर्थन जनाउँदै टिचिङ अस्पतालका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । डा. केसीले टिचिङ अस्पतालबाट अवकास प्राप्त गरिसकेको अवस्थामा पनि त्यहाँका विद्यार्थीहरुले डा. केसीको आन्दोलनमा ऐकेवद्धता जनाउँदै चरणबद्द आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

डडेल्धुरा पुगेर आफ्नो १७ औं सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विद्यार्थीहरुले आफ्नो गुरुको जीवनरक्षाको माग गरेका छन् । “सेभ जिकेसी” भनेर मैनबत्ती बाल्दै गर्दा, विद्यार्थीहरु आक्रोशित देखिन्थे । आफ्ना गुरुलाई पटक-पटक सरकारले धोका दिँदै मरे मरोस भन्ने शैलीमा बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।

आफ्नो कार्यावधिमा डा. केसीले टिचिङ अस्पतालमा बसेर पुर्याएको सेवाको स्मरण गर्दै विद्यार्थीहरुले डा केसीको आन्दोलनमा साथ दिएका हुन् ।

“जब डा. केसी यहाँ हुनुहुन्थ्यो तब उहाँले दिनरात नभनी बिरामी जाँच्नुभयो, हामीलाइ अर्थोपेडिक्सको कखरा चिनाउनुभयो । त्यतिमात्र हाम्रो इन्स्टिच्युटलाई राजनैतिक भागबन्डाले थङथिलो बनाएको थियो, त्यस्तो अवस्थामा आफ्नो ज्यानको बाजी थाप्दै टिचिङ अस्पतालका लागि लडिरहनुभयो । तसर्थ अहिले सेवानिवृत्त हुनु भयो भन्दैमा हामीले यहाँ चुप बस्न मिल्दैन ।” आन्दोलनका कार्यक्रम घोषणा गर्दैगर्दा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटिका अध्यक्ष डा. शक्ति चौरासियाले भने ।

धर्ना, र्याली लगायतका कार्यक्रम घोषणा गरेका विद्यार्थीहरुले डा केसीका मागमा सरकार गम्भीर नभएमा अस्पतालको सेवा ठप्प पार्ने सम्मको कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यस्तै डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द्र केसीलाई लिन गएको नेपाली सेनाको हेलिकोप्टर काठमाडौं फर्किएको छ । जिल्ला प्रशासन कार्यलयमा भएको सर्वपक्षीय बैठकमा डा. केसीका सामर्थकले डा. केसीले डडेल्धुरा छाड्न नचाहेको बताएपछि जिल्ला प्रशासन कार्यलयले नेपाली सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाएका हुन् ।

डडेल्धुरा अस्तपतालले डा केसीको स्वास्थ्य अवस्था जटिल भएको र अस्पतालमा उपचार सम्भव नभएको भन्दै आइतबार विज्ञप्ति जारी गरेपछि सरकारले डा‍‍. केसीलाई काठमाडौं ल्याउन लागेको थियो । स्वास्थ्य मन्त्रालयले डा. केसीको उद्धार र उपचारका लागि गृह मन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट डडेल्धुरा पठाएको थियो ।

सोमबार बिहान साढे ८ बजे सेनाको हेलिकोप्टर डडेल्धुरा पुगे पनि डा केसीका समर्थकले डा केसीले डडेल्धुरा छाड्न नचाहेको भन्दै जवर्जस्ती लैजान नपाइने बताएपछि दिउँसो २ बजेपछि नेपाली सेनाको हेलिकोप्टर डा केसीलाई नलिइ फर्किएको हो ।

डा. केसीका समर्थकको विरोधपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक समेत राखेका थिए । तर बैठकमा डा. केसीका समर्थकले जबर्जस्ती लैजान नमिल्ने भन्दै विरोध जनाएपछि प्रमुख जिल्ला अधिकारीले सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाएका हुन् ।

प्रतिक्रिया