आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बङ्गलादेशका राष्ट्रपति हमिद भोलि नेपाल आउँदै

प्रकाशित
1.2K
SHARES

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिवसीय नेपाल भ्रमणका लागि भोलि (मंगलबार) काठमाडौं आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्न लागेको हुन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सि बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्ने छिन् । बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने छन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने छन् ।

नेपाल बसाइका बेला बंगलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का, गणतन्त्र अर्जेन्टिना, बहराइन अधिराज्य र प्रजातान्त्रिक जनगणतन्त्र लाओसका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । राष्ट्रपतिसमक्ष श्रीलङ्काका आवासीय राजदूत हिमाली सुभाषिनी डि सिल्भा अरुनतिलका, अर्जेन्टिना, बहराइन र लाओसका गैरआवासीय राजदूतहरू क्रमशः डानियल चुबुरु, अब्दुलरहमान मोहमद अहमद अल गौड र बौन्नेमी चौउनगोहमले आ–आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका हुन् । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया