आज : गते

ताजा शिर्षकहरु

बेलायतमा पर्यटन प्रवर्द्धन गर्दै मन्त्री भट्टराई, सुरु वर्ल्ड ट्राभल मार्केटमा सहभागी

प्रकाशित
1K
SHARES

काठमाडौँ । विश्वभरका पर्यटन व्यवसायीहरुको एउटा कुम्भ मेला वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा भाग लिन बेलायत पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई यतिखेर नेपाल पर्यटन प्रवर्द्धन गर्न व्यस्त छन् । मन्त्री भट्टराई सोमबार लन्डनस्थित एक्सेल एक्जिबिसन सेन्टरमा सुरु वर्ल्ड ट्राभल मार्केटमा सहभागी भए ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीसहित एक्सेल पुगेका मन्त्री भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुमै बसेर अवलोकन तथा प्रचारप्रसार गरेको दूतावास स्रोतले जानकारी दिएको छ । मन्त्रीले आयोजक संस्थालाई अन्तर्वार्ता दिंदै नेपाल पर्यटनबारे अवगत गराएका थिए । उनले बेलायतीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । ४ देखि ६ नोभेम्बरसम्म चल्ने उक्त प्रदर्शनीमा विश्वका १८२ देशबाट ५ हजार बढी प्रदर्शनीकर्ता र ५१ हजार सहभागी छन् । यसमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायीसमेत संलग्न छन् ।

मन्त्रीले मंगलबारसाँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित पर्यटन प्रवर्द्धन साँझलाई सम्बोधन गर्नेछन् । यसअघि मन्त्री भट्टराई एनआरएनए यूकेद्वारा आयोजित अन्तक्रियामा सहभागी भए । कार्यक्रममा मन्त्रीले नेपाली विमानलाई युरोपमा उडान अनुमति दिन युरोपेली संघ (ईयू) सँग छलफल भइरहेको बताएका थिए । मन्त्री भट्टराईले युरोपेली राष्ट्रमा रहेका नेपाली नियोगमार्फत् प्रतिबन्ध हटाउन कूटनीतिक प्रयास भइरहेको पनि बताए ।

दुई वर्षअघि अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले नेपाललाई कालो सूचीबाट हटाए पनि युरोपेली संघले सन् २०१३ मा नेपाली विमान सेवाहरुलाई लगाएको प्रतिबन्ध कायमै छ । कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आग्रह गर्दै यो अभियान एक वर्षमात्र नभई एक दशकसम्म निरन्तरता दिन जरुरी रहेको बताए ।

नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख पुर्‍याउने लक्ष्य सरकारको छ । पर्यटन मन्त्रीले यसै अभियानलाई सहयोग पुग्ने गरी तीनजना सद्भावना दूत तोक्ने समेत जनाइएको छ । बेलायतको उपल्लो सदन हाउस अफ लर्डसमा बिहीबार एक कार्यक्रमबीच सद्भावना दूत र बेलायती पर्वतारोही एवं पर्यटन व्यवसायीलाई सम्मान कार्यक्रम तय छ ।

बेलायतबाट गत वर्ष ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा आएका थिए । लन्डनस्थित राजदूत सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याइने दाबी गरेका छन् । दूतावासबाट एकै दिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रवर्द्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका राजदूतको भनाइ छ ।

प्रतिक्रिया