आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सत्तारुढ नेकपाभित्र अर्को लफडा, कार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा तालाबन्दी

प्रकाशित
1.2K
SHARES

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवार बनाएकोमा आपत्ति गर्दै सोमबार कार्यालयमा तालाबन्दी गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।

टोलीले सूर्यविनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् । पार्टी कार्यालय बाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो । तालाबन्दी पछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइकमाण्ड’ले यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नुपर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिएका थिए ।

अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा उम्मेदवार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जीत सुनिश्चित नहुने भएकाले सहज रुपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको बताए । पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो ।

यसैबीच प्रदेश प्रमुखहरुको सिफारिस सँगै सत्तारुढ नेकपाभित्र लफडा सुरु भएको छ । पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले एकपक्षीय ढंगले प्रदेश प्रमुख नियुक्त गरेको भन्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकपक्षीय निर्णयसहित सिफारिस गरेको भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गरेका हुन्। सोमबार बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो।

प्रदेश प्रमुखमा सिफारिस गरिएकामा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्। बैठकमा वरिष्ठ नेता नेपालले विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली र बेदुराम भूषाल लगायतको नाम प्रस्ताव गरेका थिए। बैठकमा नेता नेपालले यो निर्णयलाई असन्तुलित भनेका थिए। यसबारेमा नेता नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले सचिवालयको निर्णय आश्चर्यपूर्ण भनेका छन्।

नेता रिजालले सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुट्याएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ’, उनले भनेका छन्। नेता रिजालले मेयरमा हारेकालाई पनि प्रदेश प्रमुखका सिफारिस गरिएको रिजालले दाबी गरेका छन्। नेकपाले प्रदेश प्रमुखमा सिफारिस गरेकामध्ये नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका विष्णु प्रसाई २०७४ सालको स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए। उनले यसैलाई इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन्। ‘अन्त मेयर हारेकाको योग्यता पुग्दोरहेछ’, रिजालले भनेका छन्, ‘तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’

प्रतिक्रिया