आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसको चियापानमा पुगेर प्रचण्डले भने – फेरि सहकार्य हुनसक्छ

प्रकाशित
1.1K
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग फेरि सहकार्य हुनसक्ने बताएका छन् । कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले विगतमा पनि कांग्रेससँग सहकार्य भएको भन्दै अब पनि हुनसक्ने औल्याए ।

उनले भने, ‘कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै पार्टीको कार्यक्रम जस्तो लाग्छ । विगत १२ बुँदे समझदारीदेखि शान्तिप्रक्रियामा आउँदा र सरकार चलाउँदा धेरै पटक सहकार्य भएको छ । निकट भविष्यमा पनि सहकार्य हुनसक्छ ।’ उनले राजनीतिक अवस्था कता जाने हो त्यो अनुसार अघि बढ्ने भन्दै भने, ‘हेर्दै जाउँ राजनीतिले कतातिर कोल्टे फेर्छ । त्यो अनुसार अघि बढ्नुपर्छ । ’

उनले कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम दशैंको शुभकामनामात्र नभई समृद्ध राजनीति संस्कार रहेको बताए । कार्यक्रममा सहभागी सञ्चारकर्मीले दुई तिहाईको सरकारको नेतृत्व गरेको नेकपाले कांग्रेससँगको सहकार्य भनेको कस्तो भन्ने प्रश्न गर्दा प्रचण्डले भने, ‘अब दुई तिहाईको कुरै नगरौं ।’

चियापानमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुसँग आफ्नो लामो सयमदेखिको सहकार्य रहेको बताएका छन् ।प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवा र आफू ४५ वर्षदेखिको साथी भएको बताए । ‘शेरबहादुर देउवा र म ४५ वर्षदेखिका साथी हौं । सँगै जेल बसेका छौं । लोकतन्त्रका लागि सँगै लडेका छौं’ उनले भने,‘रामचन्द्र पौडेलजी पनि त्यतिबेला देखिकै साथी हो ।’

चाँडपर्वले आपसी सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘हामी सबैले यस्ता चाँडहरु मान्ने परिपाटीलाई निरन्तरता दिन जरुरी छ’ प्रधानमन्त्रीले भने,‘ यो शोखमा मात्र तयार भएको होइन । यस्ता चाँडहरु सुसम्बन्ध बनाइ राख्न बनेको हो ।’ परम्पराका नाममा नराम्रा काम र आदतहरुबाट जोगिनुपर्ने र असल परम्परालाई अघि बढाउनुपर्ने ओलीको भनाइ थियो ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरे ।

‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ’ उनले भने । आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको देउवाले बताए । ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु’ उनले भने ।

प्रतिक्रिया