आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आयोगको नीति – प्रदेश १ मा कृषि क्षेत्रलाई प्राथमिकता दिने योजना

प्रकाशित
1.7K
SHARES

विराटनगर । प्रदेश नं १ को आर्थिक विकासको मेरुदण्डको रुपमा कृषि क्षेत्रलाई व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्नुपर्ने नीति प्रदेश योजना आयोगले लिएको छ । प्रदेशको अर्थतन्त्रमा व्यावसायिक कृषिको हिस्सा आठ प्रतिशत रहेको छ । प्रदेश योजना आयोगले भू–उपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन गर्ने, कृषिको व्यावसायीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, कृषकका लागि कृषि सामग्री, कृषिउपजको उचित मूल्य र बजारको पहुँचको व्यवस्था गर्नेजस्ता महत्वपूर्ण कृषिसम्बन्धी नीति निर्धारण गरेको छ ।

यसका लागि कृषिबालीको उत्पादन र उत्पादकत्व वृद्धि, भण्डारण र बजारीकरण, पशुपक्षी तथा मत्स्य प्रजनन एवं नस्ल सुधार, आहार तथा पोषण, पशु स्वास्थ्य र बजार प्रवद्र्धनमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने प्रदेश योजना आयोगको सुझाव छ । प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी अर्थात् ३६ दशमलव ७५प्रतिशत रहेको छ । कृषि क्षेत्रमा उपयोग भएको औसत कृषि जमीन शून्य दशमलव ६६ हेक्टर रहेको छ । कृषि जमीनको खण्डीकरणले यो अनुपात घट्दो क्रममा छ ।

राष्ट्रिय कृषिको कूल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान २१ दशमलव ५ प्रतिशत रहनुले यो प्रदेशले कृषि क्षेत्रको उपयोग र प्रयोगबाट प्रदेशमा छिट्टै समृद्धि ल्याउन सकिने प्रदेश योजना आयोगको दावी छ । देशको कूल ३० लाख ९१ हजार हेक्टर खेती गरिएको जग्गामध्ये सात लाख १५ हजार ४२७ हेक्टर अर्थात् करीब २३ दशमलव ११ प्रतिशत जग्गा यसै प्रदेशमा रहेको प्रदेश योजना आयोगको उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए ।

कृषि भूमिको उत्पादकत्व तीन दशमलव शून्य तीन मेट्रिक टन प्रतिहेक्टर रहेको बताइएको छ । कृषि मजदूरको उत्पादकत्व ८३५ अमेरिकी डलर रहेको यस प्रदेशको उत्पादनमध्ये आन्तरिक खपत गरी बाँकी तीन लाख ३४ हजार २१५ मेट्रिक टन खाद्यान्न बचत देखिएको आयोगले सार्वजनिक गरेको आवधिक योजना पुस्तिकामा उल्लेख छ । प्रदेशको धान, मकै, गहुँ, आलु, अलैँची, अदुवा, चिया आदि मुख्यबाली हुन् ।

नेपालको कूल धान उत्पादनमा यो प्रदेशको योगदान २० दशमलव ७६ प्रतिशत रहेको छ । नेपालमा कूल ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । त्यसमा प्रदेश नं. १ ले १० लाख ८५ हजार ७७० मेट्रिक टन धानको योगदान गरेको छ । त्यस्तै, नेपालको कूल २३ लाख १२१ मेट्रिक टन मकैको उत्पादनमा यो प्रदेशको योगदान छ लाख ६० हजार ९७५ मेट्रिक टन अर्थात् २८ दशमलव ७४ प्रतिशत रहेको छ । कूल १८ लाख ७९ हजार १९१ मेट्रिक टन गहुँको राष्ट्रिय उत्पादनमा यो प्रदेशको योगदान एक लाख ७९ हजार ६९५ मेट्रिक टन अर्थात् ९ दशमलव ५६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया