आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंको सुरक्षा व्यवस्थालाई कडा, सेना, प्रहरी र सशस्त्र परिचालन

प्रकाशित
1.5K
SHARES

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार सी नेपाल आउने जानकारी गराएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौं । उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौं’–उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाटसमेत थप जनशक्ति झिकाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिइसकेको छ । उता चीनले पनि राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ । नेपाल र भारत दुवै देशमा एक–एक रात बिताएपछि १३ मा राष्ट्रपति सी वेइजिङ फर्कनेछन् । सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपाल सरकारले भव्य तयारी गरेको छ । काठमाडौंका सडकहरु सिंगारिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीसँग चीनबाटै पनि उनकाे सुरक्षार्थ टाेली अाउने बताइएकाे छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

प्रतिक्रिया