आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले किन लगाएनन दशैको टिका ? छोरी गंगाले सामाजिक सञ्जालमा सेयर गरिन यस्तो तस्वीर

प्रकाशित
3.1K
SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासभित्र यसपालि दशैंको रौनक फर्केको छ । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनका कारण उनीहरुले टिका लगाएका थिएनन् । यसपाली दशैंको टिका लगाउन प्रचण्डका छोरीहरु रेणु दाहाल र गंगा दाहाल आफ्ना सन्तानहरुसहित खुमलटार आएका थिए । प्रचण्डको उपस्थितिमा उनीहरुलाई आमा सीता दाहालले टिका र जमरा लगाइदिइन् ।

प्रचण्डकी कान्छी छोरी गंगा दाहालले टिकाटालोका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । तस्वीरमा प्रचण्डको निधार खाली देखिन्छ भने उनी आफैंले कसैलाई टिका लगाइदिएका पनि छैनन् । साथै प्रचण्डकी बुहारी तथा खानेपानीमन्त्री विना मगर पनि अनुपस्थित छन् । सायद पुत्र वियोगको घाउ आलै भएर हुन सक्छ, तस्वीरमा प्रचण्ड दम्पत्तिको अनुहार भने मलिन देखिएको छ ।

आफ्ना चार सन्तानमध्ये दुईजना प्रचण्ड दम्पत्तिले गुमाइसकेका छन् । जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण २०७० सालमा निधन भएको थियो । एक मात्र छोरा प्रकाश दाहालको दुई वर्षअघि मृत्यू भएपछि उनीहरुको सहाराका रुपमा दुई छोरी र नातिनातिनाहरु छन् ।

जनयुद्धमा गएदेखि प्रचण्ड र तत्कालिन माओवादी नेताहरुले घोषितरुपमा दशैं बहिष्कार गरेका थिए । शान्ति प्रक्रियामा आएपछि पनि लामो समयसम्म प्रचण्डले टिका लगाएनन् । २० वर्षपछि २०७४ सालमा प्रचण्डको निधारमा विजयादशमीको टिका परेको थियो । त्यतिबेला प्रचण्डले परिवारका सदस्य र आफन्तलाई पनि टिका र जमरा लगाइदिएका थिए । प्रचण्ड पुत्र प्रकाशले सामाजिक सञ्जालमा टिकाटालोका तस्वीरहरु सेयर गरेपछि निकै क्रिया–प्रतिक्रिया उत्पन्न भएको थियो ।

सत्तारुढ नेकपाकै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका लगाइएका थिए । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका ओलीलाई दशैंको टीका, जमरा र माला लगाइदिएकि हुन् । भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिएकी छन् ।

यसअघि राष्ट्रपति भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट दशैँको टिका ग्रहण गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा उनले टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गरेकी हुन् । उनले हनुमानढोका दसैँघरका मूल पुजारीबाट समेत विजयादशमीको टीका ग्रहण गरेकी हुन । राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारीले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति भण्डारीले मूल पुजारीलाई पनि टिका लगाइदिएकी थिइन् । राष्ट्रपति भण्डारीले आफ्ना परिवारका सदस्यलाई समेत टीका लगाइदिएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाएका थिए। ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिएका थिए ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका थिए । पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन् । उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

प्रतिक्रिया