आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा अर्चना

प्रकाशित
1K
SHARES

काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९, पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आइतबार बिहान पूजा–अर्चना गरेकी छन् । उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन् । साथै, उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएकी थिइन् ।

बिहान १०ः०५ बजे मन्दिर आइपुगेकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वको दिन दुर्गाभवानीको पूजा–अर्चना गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विशेष महत्वका साथ आजको दिन महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ ।

साथै, आजकै दिन दसैंघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गाभवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ । बडादसैंको नवरात्रिभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ । संघीय राजधानी काठमाडौंस्थित गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, विजेश्वरी, इद्रायणी, नरदेवी, वज्रबाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठहरूमा बलि चढाउने र पूजा–आराधना गर्नेहरूको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यकानजिकै अवस्थित दक्षिणकाली, काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चन्डेश्वरी, गोरखाको गोरखकाली र मनकामना, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, वीरगन्जको गहवामाई, बाराको गढीमाई, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, बाग्लुङको कालीका भगवती, धरानको दन्तकाली, डडेलधुराको उग्रतारा, भोजपुरको सिद्धकाली, बाँकेको बागेश्वरी, ताप्लेजुङको पाथीभरा मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ । रासस समाचारदाताहरूकाअनुसार ती शक्तिपीठमा चन्डीपाठसहित देवीको उपसना भइरहेको छ ।

प्रतिक्रिया