आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मिडिया न्यायाधिश बनेको भन्दै प्रचण्डले मागे न्याय, टिभी हेर्नै छाडेको खुलासा

प्रकाशित
2.3K
SHARES

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया न्यायाधिश बनेको टिप्पणी गरेका छन् । पछिल्लो समय नेपाली मिडियाले समाजमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै मिडियासँग उनले न्याय पनि मागेका छन् । राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । नेकपाका महासचिव बिष्णु पौडेल, स्थायी समिति सदस्य तथा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, स्थायी समिति सदस्य लिलामणी पौडेलसहित कार्यक्रममा बोलाइएका प्रचण्डले मिडियाले नेताहरुलाई पछिल्लो समय निकै प्रहार गरेको गुनासो व्यक्त गरे ।

उनले मिडिया आलोचक हुनु स्वभाविक भए पनि अत्यन्तै तल्लोस्तरको भाषा र शैलीमा आक्षेप लगाइने गरेको बताए । मिडियाले सधै नेताहरुको आलोचना गरिरहने उल्लेख गर्दै उनले तर त्यसबाट नेताहरुको हालत के भएको होला भन्ने तर्फ भने मिडियाले ख्याल नगरेको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालमा हेर्नै नसकिनेगरी नेताहरुमाथि गाली गरिने गरेको उल्लेख गर्दै त्यसले मिडियामा साँच्चिकैको बाढी आएको रहेछ भन्ने अनुभूति भएको बताए ।

मानिसमा नकारात्मक कुराले बढी प्रभाव पार्ने बताउँदै अध्यक्ष प्रचण्डले मिडियामा पनि त्यस्तै नकारात्मक आलोचनाहरु बढी आएको बताए । जनतालाई सुसूचित गर्न, सचेत बनाउनुका साथै सन्देश प्रवाह गर्ने प्रभावकारी भूमिकामा मिडिया रहेको बताउँदै प्रचण्डले मिडियाले खेल्ने भूमिका अरु क्षेत्रबाट हुन नसक्ने पनि बताए । राजनीतिक दलहरुले पनि समाजमा सकारात्मक परिवर्तनका लागि भूमिका खेल्ने भए पनि अहिले मिडिया अग्रपंक्तिमा रहेको उनले बताए । नकारात्मकता पनि निकै गालीगलौजमा उत्रिएको भन्दै त्यसका केही उदाहरण समेत प्रचण्डले दिए । मार्नुपर्छ, रगत पिउनुपर्छ भन्ने जस्ता प्रतिक्रिया पनि मिडियामा देखिएको भन्दै त्यस्ता कुराहरुलाई सकारात्मक मिडिया अभियान चलाएर सच्याउनुपर्नेमा उनले जोड दिए ।

टिभी हेर्नै छोडे प्रचण्डले
कुनै समय रेडियो समेत सबैसँग नहुने गरेको र टिभी आएपछि के के न आयो भनेर ठूलो ठानिएको आफ्नै पालाका सन्दर्भहरु सुनाउँदै प्रचण्डले हिजोआज रेडियो, टिभीहरु अस्तित्वको लडाइँ लडिरहेको बताए । रेडियो सुन्ने र टिभी हेर्न मान्छेहरु निकै कम भएको भन्दै उनले हिजो आज आफूले घरमा टिभी समेत हेर्न छाडेको बताए । टिभी घरमा भए पनि त्यो बिग्रेको छ कि सही छ भन्ने केही थाहा नै नहुने गरेको उनले सुनाए ।

त्यसैगरी कुनै समय साप्ताहिक पत्रिका निकै लोकप्रिय भएको र लामो समयपछि साप्ताहिक पत्रिका पाएमा निकै रुचीपूर्वक पढ्ने गरिएका सन्दर्भ सुनाएर प्रचण्डले अहिले डिजिटल मिडियाका कारण दैनिक पत्रिकाहरु पनि मान्छेहरुले पढ्न छाडेको बताए ।

पछिल्लो समय अनलाइन मिडिया निकै प्रभावकारी भएर आएको र सबैले अनलाइन मिडियाबाटै समाचारहरु हेर्ने गरेको बताउँदै प्रचण्डले अहिले त अनलाइन मिडियाभन्दा पनि सोसल मिडिया अझ बढी शक्तिशाली र प्रभावकारी भएर आएको बताए । उनले सोसल मिडियाले अब अनलाइन मिडिया पनि पछि पर्ने संकेत गरेको उनले बताए ।

उदय जिएमको सम्पादकत्वमा ए एण्ड ए मिडियाले आजैदेखि दैनिक अनलाइन पत्रिका औपचारिक रुपमा सुभारम्भ गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका महानिर्देशक डा. महेन्द्र विष्ट, महासंघका उपाध्यक्ष दिलिपकुमार थापा, अनेरास्ववियूका संयोजक ऐन महर, विभिन्न मिडियामा आवद्ध पत्रकारहरूको बाग्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया