आज : गते

ताजा शिर्षकहरु

कांग्रेसमा गच्छदार अड्को, नेतृत्व आलटालमै, माग बढ्दै

प्रकाशित
839
SHARES

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण ग-यो । राजधानी दैनिकले खबर छापेकाे छ । पार्टी एकताताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए ।

तर, गच्छदारसँग भएको सहमति दुई वर्ष बित्नै लाग्दासम्म पनि पार्टीका शीर्ष तहका नेताहरूले नै थाहा पाउन सकेका छैनन् । गच्छदारले समेत पटकपटक आफूसँग भएको लिखित सहमति पार्टी नेतृत्वले पालना नगरेको भन्दै दुखेसो गर्दै आएका छन् । उनले केन्द्रीय समिति बैठकमा घण्टांैसम्म त्यही आशयको अभिव्यक्तिसमेत पोख्दै आएका छन् । तर, कांग्रेस नेतृत्वले भने उनीसँगको सहमतिबारे निर्णयमा पुग्न भन्दै अर्का उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति नै बनाएको छ । सो समितिलाई सहमतिका विषयलाई टुंगाउने गरी अधिकार दिइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपसभापति निधि नेतृत्वको समितिले समायोजनका विषयमा हालसम्म भएका प्रगतिबारे गत केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताए । उनले अन्तरिम संरचनाको गठनसँगै एकताको बाँकी कामले समेत पूर्णता पाउने जानकारी दिए । ‘तत्कालीन फोरम लोकतान्त्रिकसँगको सहमतिअनुसार समायोजन समितिले हालसम्म भएका कामबारे केन्द्रीय समितिमा जानकारी गराएको छ, अब अन्तरिम संरचनाको गठनसँगै एकताका बाँकी कामको पनि टुंगो लाग्छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले भने गच्छदारसँगको सहमति छिटो पूरा गरेर टुंगोमा पुग्नुपर्ने जनाए । ‘गच्छदारजीसँग जे कमिटमेन्ट गरिएको हो त्यो छिटो पूरा गरेर टुंगोमा पुग्नुपर्छ । अहिलेसम्म सो विषयमा पार्टीभित्र गहन छलफल भएको छैन, समिति बनाएर प्रतिवेदन बुझाउन भनिएको छ,’ नेता केसीले भने । कांग्रेसको केही दिनअघि बसेको केन्द्रीय समिति बैठकमा उपसभापति निधिले गच्छदारसँगको सहमतिअनुसार भएका कामको विवरणबारे जानकारी गराएका थिए ।

कांग्रेसले गत मंसिरमा राजधानीमा भएको महासमिति बैठकका लागि एकीकरणपछि पहिलोपटक गच्छदारनिकट करिब ३ सय नेताहरूलाई महासमिति सदस्य मनोनीत गरेको थियो । त्यसयता उनले आफूलाई केन्द्रीय सदस्य, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधिसहित क्रियाशील सदस्यसम्ममा भाग दिन पार्टी नेतृत्वलाई झक्झक्याउँदै आएका छन् । उनले आफ्ना पक्षका १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरिरहेका छन् ।

यस्तै २ हजारलाई क्षेत्रीय प्रतिनिधि, २५ हजार क्रियाशील सदस्य, ५ सय महाधिवेशन प्रतिनिधिको समेत उनले दाबी गर्दै पार्टीमा पत्र नै पेस गरेका छन् । यस्तै, स्थानीय तहदेखि नै संघीय संरचनाका हरेक निकायमा आफ्नो मागदाबीसमेत उनले अघि सारेका छन् ।

प्रतिक्रिया