आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी अवरुद्ध भयो बुटवल–नारायणगढ सडकखण्ड

प्रकाशित
1.9K
SHARES

नवलपरासी । बुटवल–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । नवलपुरमा रहेको पुल भाँचिएपछि वैकल्पिक रुपमा बनाइएको डाइभर्सनसमेत बाढीले बगाएपछि सडकखण्ड पुनःअवरुद्ध बनेको हो । गत बुधबार पूर्वी नवलपरासीको अरुणखोलाको पुलमा मालबहाक ट्रक ठोकिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याएको थियो । गएरातिकोे बाढीले डाइभर्सन बगाएपछि १५ घण्टासम्म सवारीसाधनहरु रोकिएका थिए ।

आज बिहान मर्मत गरेर सवारीसाधन सञ्चालनमा ल्याएपनि पुन आधा घण्टामै डाइभर्सन बगाएपछि सवारीसाधन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अहिले डोजर लगाएर मर्मतको काम भइरहेको छ । खोलामा पानी धेरै भएकाले डाइभर्सन बनाउन समस्या भएको बताइएको छ । पानी कम भएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि अहिले २० किलो मिटरसम्म सवारीसाधनहरु लामबद्ध भएर रोकिएका छन् ।

यस्तै उता महाकाली नदीमा पानीको वहाव उच्च भएको छ । लगातारको बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । कञ्चननपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव १ लाख ३८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

नदीमा पानीको बहाव बढेसँगै भारतले महाकाली (शारदा) ब्यारेजमा चारपांग्रे सवारीसाधानको आवागमनमा रोक लगाएको छ । चारपांग्रे सवारीसाधानमा रोक लगाइएपनि पैदलयात्री र दुई पांग्रे सबारीका साधन भने सञ्चालनमा रहेका छन् । महाकाली नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि पुलका सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चारपांग्रे सवारीसाधानको आवागमनमा रोक लगाउँदै आएको छ ।

महाकाली नदीको पानीको बहाव डल्डेल्धुराको परीगाँउ र दार्चुलाको दत्तुमा मापन गर्ने गरिन्छ । पहाडी जिल्लामा पानीको बहाव घट्दै गइरहेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार डडेल्धुरामा पानीको बहाव ५ मिटर ८० सेन्टीमिटर नाघे चेतावनीको संकेत मान्ने गरिएकोमा आज ४ मिटर ४७ सेन्टीमिटर रहेको छ ।

प्रतिक्रिया