आज : गते

ताजा शिर्षकहरु

विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र घोषित भयो तिलगंगा आँखा अस्पताल

प्रकाशित
1.5K
SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ। अस्पतालको २५औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो। आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। प्रतिष्ठानकी कार्यकारी अधिकृत प्रा डा रीता गुरुङलाई डब्लुएचओका देशीय प्रतिनिधि डा जोस भेन्डरलेरले ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेको प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले अस्पतालका कार्यकारी निर्देशक डा सन्दुक रुइतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सदा तयार रहेको पनि प्रतिवद्धता जनाए। कार्यक्रममा बोल्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए। उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा इकाइ’ को व्यवस्था गर्ने घोषणा पनि गरे।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुइतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गराए। हालसम्म ६० लाख आँखा रोगीहरुको उपचार गरेको तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको पनि सो अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले वर्षात्‍का समयमा फैलन सक्ने महामारी रोकथाम तथा नियन्यणका लागि देशभर पूर्व तयारी गरिएको जनाएको छ।

बाढीले बढी प्रभावित प्रदेश २ मा संभावित महामारीको फैलन नदिन विशेष टिम खटाएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख चुडामणि भण्डारीले बताए। बाढी प्रभावित जिल्लामा सम्भावित प्रकोप तथा महामारी नियन्त्रणलगायतका सेवा सुचारु र व्यवस्थित गर्न केन्द्रबाट कर्मचारी खटाई सकिएको जानकारी उनले दिए।

प्रदेश २ मा मात्र तीन वटा टिम बनाएर काम थालिएको उनको भनाइ छ। लहान केन्द्रले सिरहा र सप्तरी, बर्दिबास केन्द्रले महोत्तरी, सलार्ही र धनुषाका साथै पथलैया केन्द्रले बारा, पर्सा र रौतहट जिल्ला हेर्ने गरी जिम्मेवारी दिइएको छ। ती केन्द्रले प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जिल्ला विपद् व्ययवस्थापन समितिसँग समन्वयन गरी नियमित रुपमा स्वास्थ्य सेवा विभाग र स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइलाई दैनिक रूपमा रिपोर्टिङ गर्ने प्रमुख भण्डारीले जानकारी दिए।

प्रतिक्रिया